सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको परनिर्भरता, २६ करोड ९२ लाख खर्चेर भारतबाट तोरी आयात

२०८० साउन ९, ०६:५१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमको परनिर्भरता बढ्दै गएको छ। कैलाली भन्सार हुँदै एक वर्षमा तोरीको दानासहित गरेर झन्डै १८ अर्ब मुल्य बराबरका विभिन्न मालसामान आयात गरिएको छ। सुदूरपश्चिम प्रदेशबाट निर्यातको अवस्था नगण्य रहेको अवस्थामा आयात भने वर्षेनि बढ्दो छ। कैलाली भन्सारबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा विभिन्न २० वटा वस्तु आयात गरिएकोमा स्थानीय स्तरमा उत्पादन गर्न सकिने दालमोठ, पापड आलुचिप्स र पास्ता मात्रै एक अर्ब १५ करोड बढीको आयात भएको तथ्यांक छ। कैलाली भन्सार हुँदै एक वर्षमा भारतबाट १७ अर्ब ९५ करोड ४८ लाख ५८ हजार ८४४ रुपैयाँको वस्तु आयात भएको छ। गत आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब ५२ करोड ५३ लाख ३८ हजार ५८० रुपैयाँको डिजेल तथा दुई अर्ब ६७ करोड १३ लाख ४७ हजारको पेट्रोल आयात भएको छ।

साथै एक अर्ब ६७ करोड २१ लाख ८८ हजार ५६७ को खाना पकाउने ग्यासको आयात भएको छ। यस्तै, ३६ करोड २५ लाख ३१ हजार ३४४ रुपैयाँको हवाई इन्धन आयात भएको छ। बेकरीजन्य उत्पादन ८ करोड १८ लाख ६९ हजार ७५४ रुपैयाँको आयात हुँदा दालमोठ मात्रै ५४ करोड ६० लाख ८२ हजारको आयात भएको छ। यस्तै, ४५ करोड ५६ लाख २७ हजारको आलु र आलुचिप्स, १० करोड ९० लाख ६९ हजारको पापड र चार करोड ९ लाख ९४ हजारको पास्ता आयात गरिएको छ।

दालमोठ, पापड, बेकरी जन्य उत्पादन र आलु चिप्स सुदूरपश्चिममै उत्पादन गर्न सकिने वस्तु भए पनि ठुलो परिमाणमा भारतबाट नै आयात हुने गरेको छ। गत वर्ष कैलाली भन्सारबाट ३० करोड ४५ लाख ८५ हजार मूल्यका फिनिसिङ सेरामिक्स आयात गरिएको छ। यस्तै ८० करोड ५४ लाख ४५ हजार मूल्यका पेपर र पेपरबोर्ड आयात भएको छ। त्यस्तै ३८ करोड २९ लाख ८८ हजार मूल्यको बिटुमिन आयात भएको छ भने २९ करोड  ९५ लाख ५३ हजारको ब्ल्याङ्केट आयात गरिएको छ।

यस्तै, अदर बेकर्स र वेर्सनेस शिर्षकमा ८ करोड १८ लाख ७९ हजारको सामान आयात गरिएको छ। सो अवधिसम्म १९ करोड ३५ लाख ७३ हजारको ग्रेनाइट, ४ करोड ९३ लाख ६ हजार मूल्यको ह्विस्कीको कच्चापदार्थ आयात भएको छ। १३ करोड ७५ लाख ३२ हजारको टायर, २६ करोड ९२ लाख १६ हजारको तोरीको दाना, ६ करोड ५६ लाख ८५ हजारको शिशा र ७ करोड ६४ लाख १६ हजार मूल्यको फुड सप्लिमेन्ट आयात भएको भन्सार कार्यालयको तथ्यांक छ।

कैलाली भन्सारबाट मात्र १७ अर्ब ९५ करोड ४८ लाख ५८ हजार ८४४ रुपैयाँको सामाना भारतबाट आयात भएको छ। जसबाट सरकारलाई ६ अर्ब ८३ करोड ९० लाख २४ हजार ७९ रुपैयाँ राजश्व आम्दानी भएको छ। सुदूरपश्चिमबाट भने सो अवधिसम्म ८३ करोड ५१ लाख ६५ हजार ९६६ मूल्य बराबरका वस्तु निर्यात गरिएको छ। यहाँबाट तेजपात, कत्था, रोजिन र टर्पेन्टाइन मात्रै  निर्यात हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस