धनगढी विमानस्थलभित्र पहुँचमार्ग र पार्किङस्थल निर्माणको काम अलपत्र

धनगढीः धनगढी विमानस्थलमा कार पार्किङ्ग र पहुँच मार्ग निर्माणका लागि २०७९ जेठ ४ गते नेपाल नागरिक उड्यन प्राधिकरण र जे एण्ड जी निर्माण सेवा, धनगढीबिच सम्झौता भयो। एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको समय अवधि एक वर्षको थियो।
तर पहुँचमार्गको ट्रयाक मात्र निर्माण गरिएको छ। सम्झौता सकिएको दुई महिना वितिसक्दा पनि कार पाकिङ्गको काम भने पूरा भएको छैन। नेपाल नागरिक उड्यन प्राधिकरणका आयोजना प्रमुख रन्तबहादुर श्रेष्ठले पहुँचमार्ग र कार पार्किङ्गको काम पूरा नभएको बताए। उनले भने, ‘प्रवेशद्धवार र चमेनागृहको काम सकियो। कार पार्किङ र एक्सेस रोडको काम बाँकी छ। अरु काम पनि अलिकति बाँकी छ। चमेनागृह हस्तान्तरण भएको छैन।
तर सञ्चालन गरेका छौ।’ नेपाल नागरिक उड्यन प्राधिकरण र इन्द्र–धनु अछाम निर्माण सेवा टीकापुर, कैलालीबिच २०७९ जेठ १६ गते सम्झौता भएको चमेनागृह, वाटर फाउन्टेन, ट्रमिनल भवन सुधार र प्रवेशद्धवार निर्माणको सम्झौता भयो। एक करोड ९५ लाख ७८ हजार तीन सय ६७ रुपैयाँको उक्त योजनाको काम अन्तिम चरणमा छ।
चमेनागृह निर्माणको काम पूरा भएर सञ्चालनमा आएको छ। विमानस्थल कार्यालयले पाँच वर्षका लागि ४८ लाखमा चमेनागृह सञ्चालनको ठेक्का सम्झौतासमेत गरेको छ। प्रवेशद्धवारको काम समेत सकिएको छ। तर सुरक्षागार्डका लागि क्वाटर निर्माणको काम पूरा भएको छैन। धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले चमेनागृह सञ्चालनमा आएको बताए। उनले भने,‘ चमेरागृह सकियो। सञ्चालनमा आएकोछ छ। प्रवेशद्धवार सकिएको छ। सुरक्षागार्डको पोष्टको काम बाँकी छ।’
एक वर्षमा निर्माण कम्पनीले भौतिक संरचना निर्माणको काम पूरा गर्ने लक्ष्य थियो। तर चमेनागृहको काम मात्र पूरा भएको हो। धनगढी विमानस्थलको स्तरोन्नति अन्तर्गत टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टमको कामसमेत पूरा भएको छैन। कार पार्किङ स्थल र पहुँचमार्ग निर्माणको काम अलपत्र पारिएको छ। विमानस्थलमा संरचना निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक स्रोतबाट रकम विनियोजन गरेको हो। धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने भन्दै तत्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका थिए। एक वर्षमा सबै काम पूरा हुने लक्ष्य राखिएकोमा काम पूरा नभएको हो। धनगढी विमानस्थलभित्र पहुँचमार्ग र कार पार्किङस्थल निर्माणको काम अलपत्र परेको छ।
तर नेपाल नागरिक उड्यन प्राधिकरणले निर्माण गरेको भवनमा भने चमेनागृह सञ्चालनमा ल्याइएको छ। विमानस्थल कार्यालयले सो चमेनागृह पाँच वर्षका लागि ठेक्कामा दिएको छ। चमेनागृहको भाडा बाफत विमानस्थल कार्यालयले पाँच वर्षमा ४८ लाख रुपैया पाउने भएको हो। पसलसहितको चमेनागृह सञ्चालनमा ल्याइएको छ। तर चमेनागृह भवनसँगै पहुँचमार्ग र कार पार्किङस्थल निर्माणको सम्झौता गरिएको भए पनि निर्माण कार्य अलपत्र छ।
.gif)


