बर्दगोरिया कलेजले पायो त्रिविबाट सम्बन्धन

धनगढीः कैलालीको थप एक विद्यालयले त्रिविविबाट सम्बन्धन प्राप्त गरेको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया विद्यालयलाई सम्बन्धन दिएसँगै क्याम्पस सञ्चालनको तयारीले पूर्णता पाएको छ। त्रिभुवन विश्वविद्यालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको प्रमाणपत्र प्रदान गरेपछि क्याम्पस सञ्चालनको बाटो खुलेको हो। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बर्दगोरिया कलेजको प्रमाणपत्र क्याम्पस प्रमुख चन्दा खरेललाई प्रदान गरेको हो। त्रिभुवन विश्वविद्यालय, मानविकी संकायका डीन र प्लानिङ डाइरेक्टरले बर्दगोरिया कलेजकी प्रमुख खरेललाई सो प्रमाणपत्र प्रदान गरेका हुन। निजी क्षेत्रबाट सञ्चालित अवस्थामा रहेको सो कलेजलाई अब भने बर्दगोरिया गाउँ सरकारले सञ्चालन गर्नेछ।
बर्दगोरिया गाउँपालिका र यहाँका शिक्षा प्रेमी तथा समाजसेवीको अथक प्रयासपछि बर्दगोरियामा क्याम्पस सञ्चालनको कार्यले पूर्णता प्राप्त गरेको हो। बर्दगोरियामा यसअघि क्याम्पस नहुँदा यहाँका सयौँ विद्यार्थी उच्च शिक्षाका लागि लम्की, घोडाघोडी र जोशीपुर गाउँपालिकामा सञ्चालित क्याम्पसमा धाउन बाध्य थिए। सोही अवस्थालाई मध्यनजर गरि आफ्नै पालिकामा क्याम्पस सञ्चालनका लागी थालिएको प्रयास सफल भएको पालिका अध्यक्ष कर्णबहादुर कुवरले बताए।
साथै यसै शैक्षिक सत्र बाट पढाइ हुने गरी कार्यक्रम अगाडि बढाइने अध्यक्ष कुवरले बताए। गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउने भएपछि स्थानीय खुसि भएका छन्।


