सुदूरपश्चिमको राजस्व असुलीमा ब्रेक, यस्तो छ लक्ष्य र असुलीको तथ्यांक
धनगढीः सुदूरपश्चिमको प्रमुख भन्सार कैलाली भन्सारको राजस्व असुलीमा ब्रेक लागेको छ। कैलाली भन्सारसँगै कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयको राजस्व असुलीमा पनि कमि आएको छ। कैलाली भन्सार कार्यालयले दुई आर्थिक वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन भने गड्डाचौकी भन्सार कार्यालयले पाँच आर्थिक वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन्।
आर्थिक वर्ष २०७८/७९ मा कैलाली भन्सारबाट ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ९ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ मात्र संकलन भएको तथ्यांक छ। यो लक्ष्यको ८१ दशमलव शून्य ४ प्रतिशत मात्र हो। त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा असुली ६७ दशमलव ४१ प्रतिशत अर्थात ८ अर्ब २९ करोड ६३ लाख ५ हजार मात्र भएको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० मा गड्डाचौकी भन्सार कार्यालयले पनि लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। तथ्यांकअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम राजस्व संकलन हुँदै आएको छ। आर्थिक वर्ष २०७७/७८ मा मात्रै लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०७९/८० मा ५८ करोड ९६ लाख ४८ हजार लक्ष्यमध्ये ४२ करोड ९ लाख ९९ हजार रुपैयाँ मात्र संकलन भएको छ।
लक्ष्यभन्दा १६ करोड ८६ लाख ४९ हजार रुपैयाँ भन्सार राजस्व कम संकलन भएको हो। गत वर्ष ७१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७५/७६ मा ४० करोड १२ लाख ८४ हजार लक्ष्यमा ३६ करोड ६७ लाख ८८ हजार, २०७६/७७ मा ४८ करोड ६८ लाख ७५ हजार लक्ष्यमा २६ करोड २८ लाख ९३ हजार भन्सार राजस्व संकलन भएको थियो।
सो आर्थिक वर्षमा ५४ प्रतिशत मात्रै भन्सार राजस्व संकलन भएपछि भन्सार विभागले अर्को आर्थिक वर्षमा लक्ष्य नै घटाउनु परेको थियो। कोरोना महामारीले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा झन्डै आधा मात्रै भन्सार राजस्व संकलन भएपछि भन्सार विभागले आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्य घटाएको थियो। सो आर्थिक वर्षमा ३५ करोड ६७ लाख ८८ हजार भन्सार राजस्व लक्ष्यमध्ये ३७ करोड ३९ लाख २३ हजार संकलन भएको थियोे।
लक्ष्य घटाएको दोस्रो वर्ष २०७८/७९ मा पनि राजस्व लक्ष्यअनुरूप हुन सकेको थिएन। सो वर्ष ५२ करोड ७७ लाख ६ हजारको लक्ष्यमध्ये ४६ करोड २२ लाख ४३ हजार मात्र राजस्व संकलन भएको तथ्यांक छ। खुला सीमानाका भएकाले व्यवसायीले चोरी तस्करी गरेर सामान भित्र्याउने, ल्याएको सामानअनुरूप भन्सार नकाट्ने, भन्सारदेखि सीमा क्षेत्रमा खटिने प्रहरीको मिलोमतो लगायत कारणले राजस्व लक्ष्यअनुरूप संकलन हुन नसकेको भन्सार अधिकृतहरुले बताएका छन्।