सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा ज्यान मार्नेसम्मका घटना भयावह, जबरजस्ती करणी झनै विकराल

२०८० साउन ७, ०१:५१

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको गोदावरी नगर क्षेत्रभित्र ज्यान मार्नेसम्मका घटनाले भयावह रुप लिएको छ। गोदावरी क्षेत्रमा कर्तव्य ज्यान, भवितव्य ज्यान तथा फुटकर ज्यानदेखि जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगसम्मका घटनाले झनै विकराल रुप लिएको हो। गोदावरीमा एक वर्षको अवधिमा अपराधका तीन सय ५० घटना ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) मा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कर्तव्य ज्यानका दुई, भवितव्य ज्यान १९ तथा फुटकर ज्यान सम्वन्धिका ११ उजुरी प्रहरीमा दर्ता भएका छन्।गोदावरीमा देहत्याग गर्नेको संख्या पनि सो अवधिसम्म डरलाग्दो रुपमा बढेको छ। आत्महत्या दुरुत्साहनमा चार पुरुष र एक महिला विरुद्ध उजुरी दर्ता भएको छ। त्यस्तै विष सेवन गरेर ९ तथा झुण्डिएर ३९ जनाले प्राण त्याग गरेको खुलेको छ।

गोदावरीमा डाका चोरी एक, साधारण चोरी १२, जुवा दुई तथा ठगीका दुई घटना प्रहरीमा दर्ता भएका छन्। लागुऔषध मुद्दामा पुरुष ७८ र महिला ६ गरी ८३ जना विरुद्ध मुद्दा दायर भएको छ। साथै गोदावरीभित्र अभद्र व्यवहारका घटना पनि बढेका छन्। यस्तो कार्यमा पुरुष एक सय ५ तथा महिला २७ रहेको प्रहरी अभिलेख छ। बहुविवाहका घटना पनि एकपछि अर्को बढ्दै गएको पाइएको हो।

बहुविवाह ९, बालविवाह दुई, जबरजस्ती करणी २३ तथा जबरजस्ती करणी उद्योगका ८ मुद्दा दर्ता भएका छन्। त्यस्तै सवारी ज्यान १८, सवारी अंगभंग एक, सवारी वाट भवितव्य ७, मानव बेचबिखन तथा जबरजस्ती करणी एक, बैंकिङ कसुर ३० तथा हातहतियार सम्वन्धिका चार गरेर अपराधका तीन सय ५० उजुरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा दर्ता भएका छन्। कुल उजुरीमध्ये दुई सय ५० उजुरीको टुंगो लागिसकेको छ भने ११५ उजुरीको टुंगो लाग्न बाँकी छ। यस्ता अपराधमा संलग्न तीन सय १४ पुरुष र ४७ महिला पक्राउ परेका छन्।

१६ पुरुष र दुई महिला भने अझै फरार छन्। गोदावरीमा लागुऔषध, बहुविवाह, बालविवाह, जबरजस्ती करणदेखि देहत्यागका घटना सबैभन्दा बढी भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेशबहादुर बरालले बताए। यस्ता विविध अपराधका घटना न्युनिकरण गर्न प्रहरीको एक्लो प्रयासबाट मात्र संभव नभएकाले यसमा स्थानीय सरकार र सरोकारवाला निकायको भूमिका प्रभावकारी बन्नुपर्ने उनले बताएका छन्।

कमेन्ट लोड गर्नुस