धनगढीमा नगर प्रहरीको ‘कमाल’, सात दिनमै ४७ सर्प नियन्त्रणमा
धनगढीः कैलालीको धनगढी उपहानरपालिकाभित्र कार्यरत नगर प्रहरीको भुमिका प्रभावकारी बन्दै गएको छ। नगर प्रहरीले धनगढीमा सात दिनको अवधिमा ४७ सर्पको उद्धार गरेको छ। घरभित्र पसेका सर्पलाई सुरक्षित रुपमा समात्न नगर प्रहरीले असार ३१ गतेबाट काम थालेको हो। सर्प समात्ने तालिम पाएको नगर प्रहरी सूचना प्राप्त गर्ने वित्तिकै सम्बन्धित स्थानमा पुगेर सर्प समात्ने गरेको नगर प्रहरी नायव निरीक्षक कृष्ण मल्लले बताए।
‘हामीले असार ३१ गतेबाट घरभित्र पसेका सर्पहरूको उद्धार गर्न थालेका हौँ,’ उनले भने, ‘सात दिनमा धनगढीका विभिन्न वडाबाट ४७ सर्पको उद्धार गरेर सब डिभिजन वन कार्यालयको रोहबरमा जङ्गलमा छोड्ने काम भएको छ।’ उपमहानगरपालिकाले नगर प्रहरीलाई सर्प समात्न दुई दिनको तालिम दिइएको थियो। नगर प्रहरीको टोल फ्रीन नम्बरमा फोन गरे सर्प उद्धारका लागि तत्काल प्रहरी सम्बन्धित घरमा पुग्ने गरेको छ।
उपमहानगरका १९ वटै वडामा सक्दो चाँडो नगर प्रहरी पुग्ने गरेको मल्लले बताए। ‘हामीलाई खबर प्राप्त हुनासाथ जाने नियम बनाएका छौँ। बजार क्षेत्रमा १० मिनेटभित्रमा पुग्ने गरेका छौँ भने फूलबारी र उर्मा क्षेत्रका वडामा सडकको अवस्था हेरेर समय लाग्छ। लगभग २० मिनेटभित्र सर्प उद्धार टोली पुग्ने गरेको छ’, मल्लले भने। नगर प्रहरीले एकै दिनमा घरभित्रबाट १८ सर्प समातेको छ।
साउन २ गते धनगढी–१७ बाट १८ वटा कमन कोब्राको उद्धार गरेर जङ्गलमा छोडिएको छ। यस्तै, धनगढीका विभिन्न वडाबाट कमन करेत, अजिङ्गर, धामन, ब्याण्डेड करेत, ब्ल्याक करेत, गोमन, किङ कोब्रा, भाइपर प्रजातिका सर्पहरूको उद्धार गरिएको नगर प्रहरी नायव निरीक्षक मल्लले बताए। धनगढी उपमहानगरपालिकाले गर्भवती महिला र स्तनपान गराउने आमा र बच्चा बिरामी हुँदा समेत अस्पताल पु¥याउन, रातिको समयमा बिरामी भएर अस्पताल आउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। यस्तै, उपमहानगरले निःशुल्क शव बाहनको व्यवस्था गरेको छ।
आपतकालीन अवस्थामा पैसा नलाग्ने सम्पर्क नम्बर १८१०५००००९० मा फोन गरे नगर प्रहरीले तत्काल सहयोग पु¥याउने व्यवस्था मिलाइएको छ। आपतकालिन अवस्थामा नगरवासीको सेवामा नगर प्रहरी खटिन थालेपछि स्थानीय हर्षित भएका छन्। धनगढीमा नगर प्रहरी भएको अनुभुति भएको समेत स्थानीयको प्रतिक्रिया छ।