गठबन्धन तोड्न अनेक षड्यन्त्र हुनसक्छ– माधव नेपाल
काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको जिकिर गरेका छन्।
नेपाली कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्ता गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरे। शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेको टिप्पणी गरे।
त्यसलाई बुझेर सत्ता गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। “घुमीफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ। सिद्धान्त सोचेजस्तो हुँदैन। नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्दछ। व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको भन्दै उनले त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए।
पुँजीवादले मुनाफा मात्र हेर्ने भएकाले जनताको हितका लागि समाजवादको विकल्प नभएको उनले बताए।