सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै

२०८० साउन ५, ०८:५६ खबर संवाददाता

काठमाडौँः  संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि इटाली प्रस्थान गर्दै छन्।

नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुने कार्यसूची छ। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्र सङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नेछन्। नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनकी स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ। यही १२ साउनमा प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कने छन्।
 

कमेन्ट लोड गर्नुस