सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अपराधको जालोः ७२ फरार अपराधि पक्राउ, ९७५ विरुद्ध मुद्दा

२०८० साउन ५, ०२:४७

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुर जिल्लाभित्र विभिन्न प्रकृतिका अपराध बढेको प्रहरीले दिएको तथ्यांकबाट खुलेको छ। आर्थिक वर्ष २०७८/७९ मा अदालतबाट दोषी ठहर भएका ६३ जना प्रतिवादी (अपराधि) लाई प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको थियो भने यो संख्या आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ७२ नाघेको छ।

अझ अदालतबाट दोषी ठहर भएर फरार रहेकाहरु सयौँको संख्यामा छन्। बहुविवाह, लागुऔषध, चोरी डकैती, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायत गरेर कञ्चनपुरमा एकपछि अर्को अपराधका घटना बढ्दै गएको पाइएको हो। विभिन्न प्रकृतिका अपराधमा संलग्न विरुद्ध २०७८ सालमा ८ सय ७५ मुद्दा दायर भएकोमा ६ सय ७ मुद्दा मात्र किनारा लागेर बाँकी दुई सय ६८ मुद्दाको अन्तिम सुनुवाई हुन बाँकी नै थियो।

यो संख्या २०७९ मा आएर झन बढेको छ। सो अवधिसम्म विभिन्न प्रकृतिका अपराधमा संलग्न विरुद्ध ९ सय ७५ मुद्दा दायर भएकोमा तीन सय ८ मुद्दाको अझै सुनुवाई भएको छैन्। जिल्लाभित्र दुई वर्षको अवधिमा मात्र एक हजार ८ सय ५० पीडक विरुद्ध पीडितले सम्वन्धित निकायमा मुद्दा दायर गरेकोमा पाँच सय ७६ पीडित अन्तिम न्यायको सुनुवाइको पर्खाइमा छन्।

बहुविवाह, लागुऔषध, चोरी डकैति, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायतका अपराध कञ्चनपुरमा हरेक वर्ष बढ्दै गएको उल्लेखित तथ्यांकबाट प्रमाणित हुन्छ। लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध पनि जिल्लाभित्र बढ्दो क्रममा देखिएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको प्रहरी अधिकारीहरु बताउँछन्। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले महिलामाथि हुने हिंसा, बलात्कारका घटनामा समेत वृद्धि हुँदै गएको छ।

जबरजस्ती करणी र महिलामाथि हुने हिंसाका घटनाको पछाडि सामाजिक सञ्जाल र मादकपदार्थ दुव्र्यसन प्रमुख कारण बन्ने गरेको छ। कुनै समय सबै दृष्टिकोणबाट शान्त कञ्चनपुर पछिल्लो समय भने विभिन्न प्रकृतिका अपराधका गतिविधिले असान्त बन्दै गएको सामाजिक अगुवाहरु बताउँछन्। कञ्चनपुर कारागार ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमताको छ। तर अपराध दैनिक रुपमा बढ्न थालेपछि कारागारको क्षमतान्दा तीन गुणा बढी कैदीबन्दी जेलभित्र छन्।

कमेन्ट लोड गर्नुस