चुरेमा कृषि सडकको बेहाल, गाउँपालिकाको बेवास्तापछि स्थानीयबाटै मर्मत
धनगढीः कैलालीको चुरेमा कृषि सडकको बेहाल छ। ठाउँठाउँमा सडक भत्किनुका साथै ठुलठुला खाल्डाखुल्डी परेपछि आवागमनमै अवरोध सिर्जना भएको छ। चुरे गाउँपालिका कार्यालयसम्मको करिब ६ किलोमिटर सडक ठाउँठाउँमा भत्किनुका साथै ठुलठुला खाल्डाखुल्डी परेपछि आगागमनमा अवरोध भएको स्थानीयले गुनासो गरेका हुन्।
वर्षातको समयमा ठाउँठाउँमा सडक भत्किएर आवागमनमै अवरोध सिर्जना हुँदा समेत गाउँपालिकाले मर्मतमा बेवास्ता गरेको स्थानीयको गुनासो छ। सडकको बेहाल र आवागमनका अवरोध पुगेपछि एक जना स्थानीयले आफ्नो पहलमा निःशुल्क सडक मर्मत गरेर आवागमन सुचारु गर्ने पहल थालेका छन्। स्थानीय करन साउँदले आफ्नै स्रोतसाधनको प्रयोग गरेर भत्केको सडक मर्मत गर्नुका साथै खाल्डाखुल्डी परेका स्थानमा ग्राभेल हाल्ने काम तीन दिनदेखि गर्दै आएका छन।
चुरे गाउँपालिकासम्म करिब ६ किलोमिटर कृषि सडकका अधिकांश क्षेत्रमा माथिबाट खसेको पहिरो र ठाउँठाउँमा परेका खाल्डाखुल्डीले आवागमनमा अवरोध सिर्जना भएपछि जेसिभीको सहायताले अवरोध हटाउने काम भइरहेको साउँदले बताए। ‘ठाउँठाउँमा सडक भत्किनुका साथै ठुलठुला खाल्डाखुल्डी परेका छन्।
यसले कृषि सडकको हालत निकै खराब हुनुका साथै आवागमनमै बाधा परेपछि भत्किएको सडक मर्मत गर्नुका साथै खाल्डा परेका स्थानमा ग्राभेल गरेर आवागमन पुरानै अवस्थामा सुचारु भएको छ।’ गाउँपालिकाले मर्मतमा बेवास्ता गरेपछि आफ्नै पहलमा करिब ६ लाख रुपैयाँ खर्चेर निःशुल्क रुपमा सडक मर्मत गर्ने काम भएको उनले बताए। मर्मतपछि अहिले सडकमा आवातजावत गर्न त्यति ठुलो समस्या नभएको उनले बताए।
स्थानीय नेता समेत रहेका साउँदले आफ्नै स्रोतसाधनमा सडक मर्मत गर्ने काम भएको बताए। कृषि सडक कालोपत्र गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको भए पनि तत्कालका लागि मर्मतमा चासो नदेखाएपछि स्थानीय साउँदसहितको युवा समुह निःशुल्क रुपमा सडक सुचारु गर्न अग्रसर भएको हो।