सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लागुऔषधका कारण घर परिवार तहसनहस हुँदै

फाइल फोटो
फाइल फोटो
२०८० साउन ४, ०७:१८ नारायण अवस्थी

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीका गणेशराज अवस्थीको घर रित्तो छ। ५० वर्षीय अवस्थीका श्रीमती र एक छोरा छन्। तीन छोरीको बिहे गरिसकेका अवस्थीले २५ वर्षीय छोराको तीन वर्ष अगाडि विवाह गरेका थिए। तर, बुहारीले घरमै आत्महत्या गर्दा उनले तारेख बोक्नु पर्‍यो।  भर्खरै मात्र मुद्दाको फैसला भएको छ।

२० वर्ष अगाडिदेखि गाउँमै किराना र चिया पसल चलाएर छोराछोरी पढाएका र तिनीहरूको बिहे गराएका अवस्थीको घरमा अहिले सम्पत्तिको नाममा एक घर, थोरै जग्गा र पुरानो मोटरसाइकल मात्र छ।  १० वर्ष अगाडिदेखि दुर्व्यसनमा फसेको छोराले भाडा वर्तमान, अन्नपात र लत्ताकपडा बिक्री गरेर पूरै घर रित्याएको अवस्थी बताउँछन्। ‘दश पास हुँदासम्म छोरो राम्रै थियो। लागुऔषध दुर्व्यसनमा परेर बिग्रेको छोराले खाना पकाउने, खाने र चिया पिउने कपसम्म घरमा बाँकी छोडेन। छोराले चामल भर्ने मानोसमेत लगेर बिक्री गर्‍यो,’ बिस्मित हुँदै अवस्थीले भने।

कक्षा १० सम्म पढ्दा छोरो राम्रो रहेको बताउने अवस्थी १० कक्षा पास गरेपछि बिग्रेको बताउँछन्। सीमा क्षेत्रमा बसोबास भएकाले साथीहरूसँग टनकपुर गएर छोराले लागुऔषध सेवन गरेर आउने गरेको उनी बताउँछन्।  एसएलसी पास गरेपछि छोराले कहिले काठमाडौं, कहिले मुम्बई र कहिले बङ्गलोर गएर समय बर्बादसँगै जीवन र परिवार तहनहस पारेको अवस्थीले आँखाबाट आँसु झार्दै भने।

भीमदत्त नगरपालिका वडा नम्बर ९ र १० चुरेको फेदमा अवस्थित भारतीय बजार टनकपुर वारिका बस्ती हुन्। टनकपुर आवतजावत गर्न टनकपुर ब्यारेजमा बनेको पुलले सहज बनाएको छ भने तस्करीमा संलग्न हुन महाकाली वारिको भारतीय गाउँ थपल्यालखेडाले सहज बनाएको छ। यस्तै, त्यो क्षेत्रमा चुरेबाट हुने काठ तस्करी, भारतबाट हुने ब्राउन सुगर र दैनिक उपभोग्य वस्तुको तस्करीले युवाहरूको दैनिकी रमझम बनाइदिएको छ। तस्करीबाट आउने सहज पैसाले लागुऔषधको प्रयोगलाई प्रसय दिएको ब्रह्मदेवका स्थानीयको बुझाइ छ।

गणेशराज अवस्थीले छोराले घरमा बस्न नसक्ने वातावरण निर्माण गर्दा तीन पटक घर छोडेर निस्केको बताएका छन्। आखिर जाने ठाउँ अन्त कहीँ नभएकाले दुर्व्यसनी छोराको धम्की, दुर्व्यवहार सहेर बस्नु परेको अवस्थीले सुनाए। ‘सीमावर्ती गाउँहरूमा लागुऔषधको कुलतमा मेरो छोराजस्तै अन्य युवाहरू पनि फसेका छन्,’ उनले भने, ‘नेपालगञ्ज पुनर्स्थापना केन्द्रमा राखेर पनि छोरोमा सुधार आएन।’

खल्तीमा पैसा छ भन्ने थाहा पाए खोसेर लग्ने तथा साँझ बिहान पकाउन पोलेथिनमा ल्याएको रासन, साबुन, चियापत्ती, नयाँ  लुगाफाटो,जुत्ता–चप्पलसमेत लगेर छोराले लागुऔषध खान बिक्री गर्ने गरेकाले निकै हैरानी खेप्नुपरेको अवस्थीले बताएका छन्।

यता असार १० गते कैलाली कारागारबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ कि ५० वर्षीया कमलादेवी अवस्थी पक्राउ परिन्। लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका छोरा ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीलाई  प्रहरीले ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। असार १० भन्दा केही दिन अघिमात्र ओमप्रकाशकी श्रीमती पनि लागुऔषध मुद्दा पक्राउ परेकी थिइन्। यो धनगढीको प्रतिनिधि घटना हो।

कैलाली र कञ्चनपुसँग जोडिएको भारतीय सीमावर्ती बजारमा नेपाली प्रयोगकर्ता लक्षित गरेर खरौ हिरोईन अर्थात् ब्राउन सुगरको कारोबार हुने गरेको प्रहरीले बताएको छ। सुदूरपश्चिममा एक वर्षको अवधिमा ७८८ भन्दा बढी जना पक्राउ परेका छन्। 

कञ्चनपुर जिल्लामा गत वर्ष पक्राउ परेका २८२ दुर्व्यसनीमध्ये ११३ भीमदत्त नगरपालिकामा बसोबास गर्ने र ९२ जना बेलौरी नगरपालिकाको रहेको प्रहरी तथ्याङ्कले देखाएको छ। भारतीय बजारमा पुगेर ब्राउन सुगर सेवन पनि गर्ने र तिनै मान्छेले अरुका लागि बोकेर पनि ल्याउने गरेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए। गएको आर्थिक वर्षमा कञ्चनपुरमा भीमदत्त र बेलौरीबाट सबैभन्दा बढी दुर्व्यसनी पक्राउ परेका छन्,“ उनले भने, “भारतीय बजारमा गएर सेवन गर्ने र सानोतिनो परिमाणमा बिक्री गर्न ल्याउने गरेको पाइएको छ। निकै सानो हुने भएकाले सजिलोसँग लुकाएर ल्याउने र यता बिक्री गर्ने गरेको पाइएको छ।

कञ्चनपुरमा लागुऔषध दुर्व्यसनी र कारोबारीहरूले भारतीय बजार वनवासा, टनकपुर र सम्पूर्णानगरबाट ब्राउन सुगरलगायत अन्य लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ।

कैलालीमा भने भारतीय बजार सुडा, वनगावँ, पलिया र तिकुनीयाबाट लागुऔषध भित्र्याउने गरिएको छ। कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लाका लागि पनि ब्राउन सुगर भित्र्याउने गरिएको प्रहरीको भनाइ छ।

 सीमावर्ती क्षेत्रमा ब्राउन सुगर आयात हुने गरेको छ भने गाँजा र चरेस भारत निर्यात गर्न डम्पिङ हुने गरेको छ। सीमावर्ती क्षेत्रमा तस्करीबाट सजिलै पैसा कमाइ हुने भएकाले उक्त तस्करीबाट आएको पैसा लागुऔषधमा खर्च हुने गरेको बताइन्छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस