सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध रुपमा रुख कटानीपछि कैलालीको चुरेका सामुदायिक वनमा अख्तियार पस्यो

२०७६ वैशाख ६, ०६:४७ नवराज पनेरु

कैलालीको चुरेमा गैर कानुनी रुपमा रुख कटानी हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले चुरे क्षेत्रमा रहेका आधा दर्जन बढि सामुदायिक वनमा छानविन सुरु गरेको हो। अहिले चुरे क्षेत्रमा रहेका ७ वटा सामुदायिक वनमाथि अख्तियार कञ्चनपुरले छानविन गरिरहेको छ भने २ वटा सामुदायिक वनमा विस्तृत छानविनका लागि अनुसन्धान अधिकृत नै परिचालन गर्न माग गरिएको छ। जस मध्ये एउटा सामुदायिक वनमा भने अनुसन्धान अधिकृत पनि परिचालन भईसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका वन अनुसन्धान शाखाका अधिकृत दलवहादुर ऐरले बताए। 

उनका अनुसार अहिले कैलाली जिल्ला भरी झण्डै ९० को हाराहारीमा वन सम्वन्धीका उजुरीको अख्तियार कञ्चनपुरले छानविन गरिरहेको छ। त्यस्मा स्थानीय तहका जनप्रतिनिधि आईसकेपछि चुरे क्षेत्रका सामुदायिक वनमा एकपछि अर्को गर्दै गैर कानुनी रुपमा रुख कटानी हुन थालेपछि अख्यिारले चाँसो देखाएको  अख्तियार महेन्द्रनगरले जनाएको छ। अवैध रुपमा रुख कटानी भएपछि वनका पदाधिकारीसंगै जनप्रतिनिधिमाथि पनि छानविन भईरहेको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले चुरे क्षेत्रका आधा दर्जन बढि सामुदायिक वनमा छानविन गरिरहेकोमा सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयले पनि चाँसो दिएको छ। मन्त्रालयले वन निर्देशनालयका निर्देशक महेन्द्र वाग्लेको नेतृत्वमा ३ सदस्यीय छानविन समिती परिचालन गरेको छ। यद्यपी अहिले सम्म छानविन समितिले प्रतिवेदन नबुझाएको प्रदेशको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय प्रवक्ता यज्ञमुर्ती खनालले बताए। 

जिल्ला वन डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लाको चुरे क्षेत्रमा सबैभन्दा बढि सडक निर्माणको नाममा गैर कानुनी रुपमा रुख कटानी भएको छ। स्थानीय तथा प्रदेश सरकारको बजेट मार्फत सडकको योजना कार्यान्वयन गर्दा वातावरणीय प्रभाव मुल्याङकन र रुख कटानीको आदेश विना धमाधम रुख काटिएको छ। यस्तै केहि सामुदायिक वनमा भने विद्युत विस्तारका क्रममा पनि अनुमती विना रुख काटिएको छ। त्यसैले अवैध रुपमा भएको रुख कटानीमा सामुदायिक वनका पदाधिकारीसंगै स्थानीय तहका जनप्रतिनिधि पनि दोषी भएको आरोप लाग्न थालेको छ। जिल्ला वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले पनि विभिन्न निकायले छानविन जारी राखेकोले केहि समयमै सत्यतथ्य बाहिरिने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले दिनेश एफएम र दिनेश खवरमा प्रशारण र प्रकाशन भएका समाचारलाई नै टेकेर चुरे क्षेत्रका अधिकासं सामुदायिक वनमाथि छानविन गरिरहेको जनाएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस