सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट ३७ हजार बढी बिरामी लाभान्वित

२०८० साउन २, १२:५० खबर संवाददाता

धनगढीः धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु भएको ठिक एक वर्ष भएको छ। २०७९ श्रावण १ गतेबाट तालिका अनुसार सञ्चालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु भएको सोमबार अर्थात २०८० श्रावण १ गते एक बर्ष पुगेको छ। गत वर्ष धनगढीको वडा नम्बर १९ बाट ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’को शुभारम्भ गरिएको थियो। क्लिनिकमा एक वर्षको अवधिमा ३७ हजार तीन सय बिरामीले विशेषज्ञ सेवा पाएका छन्।

विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती अस्पताल आउनुपर्ने बाध्यता छ। नगर प्रमुख गोपाल हमालले चुनावी एजेन्डामै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सेवा सुरु गर्ने कार्यक्रम राखेका थिए।  उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत आवको पहिलो दिनमा नगरप्रमुख हमालले सुरु गरेका थिए। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए।

मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरले सुरु गरेको महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनको सिको सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने र सुधार गर्ने हो भने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनले ठूलो मद्दत पु¥याउनेछ।’ ‘प्रदेश सरकार यस्ता प्रभावकारी कार्यक्रममा साझेदारी गर्न तयार छ।’ नगर प्रमुख हमालले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा सञ्चालनमा ल्याएको बताए।

‘आफ्नो कार्यकालको बाँकी चार वर्ष निरन्तर यो ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालनमा रहनेछ,’ उनले भने, ‘यसलाई उपमहानगरले साझेदारी कार्यक्रम तथा योजनाअन्तर्गत राखेको छ। सबैको सहयोग पनि चाहिएको छ।’ उनले कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताए।

उनका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २/२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरेको छ। ‘खासगरी ग्रामीण महिलाहरू स्वास्थ्य सेवा पहुँचबाट टाढा छन्,’ हमालले भने, ‘प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वडा क्लिनिकमा छन्। यो एक प्रकारले आमा बचाउ कार्यक्रम भन्दा हुन्छ।’ उनले यस कार्यक्रमलाई सबैतिरबाट सहयोग प्राप्त भएको बताए।

नगर प्रमुख हमालले आफू चढ्ने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि दिएर विपन्न नागरिकको स्वास्थ्य उपचारमा थप योगदान पु¥याएका छन्। उपमहानगरको १९ वडा नम्बरबाट सुरु क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन हुँदै आएको छ। साथै वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले विद्युतीय गाडी नै खरिद गरेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकिएको छ। १५ सिट क्षमताको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ। विद्युतीय सवारी साधन वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडावडामा गएर सेवा गर्न सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

कमेन्ट लोड गर्नुस