सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा  शिलालेख विवादले वडा कार्यालय भवन अलपत्र

२०८० साउन १, ०६:५४ खबर संवाददाता

धनगढीः बैतडीको पाटन नगरपालिकाको नव निर्मित वडा कार्यालय भवन अलपत्र परेको छ। पाटन नगरपालिका वडा नम्बर १० को नव निर्मित वडा कार्यालय निमार्ण सम्पन्न भएको १ वर्ष हुँदा पनि प्रयोगमा आएको छैन। वडा अध्यक्षले भवन बुझ्न नमानेका कारण वडा कार्यालयको भवन अलपत्र परेको हो। भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडा भवन पाटन नगरपालिकालाई हस्तान्तरण गरेको एक बर्ष भए पनि वडा अध्यक्ष धनबहादुर कुँवरले उक्त भवनबाट सेवा सुचारु गरेका छैनन्।

निवर्तमान वडाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा भवन बनेको भन्दै शिलालेख राखेका कारण वर्तमान अध्यक्षले बुझ्न नमानेपछि निर्माण कम्पनी एसके निर्माण सेवाले नगरपालिकालाई भवन हस्तान्तरण गरेको जनाएको छ।

नयाँ भवनबाट सेवा प्रवाह नहुँदा पुरानो जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या रहेको छ। ‘पुरानो भवनमा केही कामको लागि गए पनि बस्ने ठाउँ छैन। उभिएर काम गरेर फर्किनु पर्छ। स्थानीय सुरेश पन्तले भने, ‘छिटो सुविधा सम्पन्न भवन सुरु हुनु पर्छ।'
निर्वतमान वडा अध्यक्ष देवेन्द्र कुँवरले आफ्नो कार्यकालमै भवन निर्माण भएको भनेर शिलालेख लागाएको बताए । उलने भने, ‘भवन उद्घाटनको शिलालेख लगाएका छैनौँ । हामीले भवन बनाएका हौँ भन्न नमिल्ने भन्ने हुँदैन। हाम्रै पहलमा भवन बनेको हो। हामीले बजेट हाल्न पहल गरेका हौँ।  वडा पदाधिकारी र कर्मचारीहरूको संयुक्त बैठकबाट निर्णय गरेर शिलालेख लगाएका हौँ। वर्तमान वडा पदाधिकारीहरूले उद्घाटनको शिलालेख लगाउन सक्नुहुन्छ।’

वडा भवन बुझ्न नमानेका नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुवरले भने निर्माणाधीन भवनमा शिलालेख लगाउनु गलत भएको बताउदै आएका छन्। उनले निर्माण कम्पनीले भवन नगरपालिकालाई बुझाएको बताएका छन्। 'वडा कार्यालयको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नगरपालिकाले हामीलाई वडा कार्याल सञ्चालन गर्न भवन हस्तान्तरण गरेको छैन,' उनले भने, 'निर्माण सम्पन्न नहुँदै शिलालेख टास्ने कुरा पनि गलत भएको भन्ने व्यहोरा कार्यपालिकालाई जानकारी गराएका छौँ। निर्णय केही आएको छैन।'

गत वर्ष नै ६४ लाखको लागतमा वडा कार्यालय भवनको निर्माण सम्पन्न भएको हो । 
शिलालेख लगाउने निर्वतमान वडा अध्यक्ष देवेन्द्र कुँवर शिलालेखका कारण भवन बुझ्न नमान्ने वर्तमान वडा अध्यक्ष धनबहादुर कुँवर २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावका प्रतिस्पर्धी हुन्। 

कमेन्ट लोड गर्नुस