सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच दिनमै ४०६ विरुवाका लागि सहयोग, यसरी सार्थक बन्दैछ ‘हरियाली धनगढी’

२०८० साउन १, १२:३१ खबर संवाददाता

धनगढीः दोस्रो चरण चरणको ‘हरियाली धनगढी’ अभियानमा जन–समर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले सुरु गरेको हरियाली प्रवद्र्धन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहभागिता उल्लेख्य रुपमा बढ्न थालेको छ। नेपालका विभिन्न क्षेत्र तथा विदेशमा रहेका नेपालीहरुले हरियाली धनगढी अभियानमा खुलेर साथ र समर्थन जनाउन थालेका छन्।

उपमहानगरवासीसँगै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले पनि यस अभियानमा आफ्नो उपस्थित देखाउन प्रतिस्पर्धा नै चलेको छ। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले अघि सारेको यस अभियानमा सबैतिरबाट साथ र समर्थन जुट्न थालेको छ। उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी रानालाई भेटेरै हरियाली धनगढीका लागि नगद तथा चेक हस्तान्तरण गर्नेको संख्या बढ्दो छ।

साथै मुलुकभित्र र बाहिर रहेका नेपालीहरु हरियाली प्रवद्र्धन कोषमार्फत यो अभियानमा जोडिनेक्रम जारी छ। उपमहानगरपालिकाको यस अभियानमा जसरी धनगढीबासीको साथ र समर्थन बढेको छ त्यसैगरी स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले समेत खुलेर साथ र समर्थन जनाउन थालेका छन्। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानकै एक अंश हो हरियाली धनगढी। यस अभियानमा विभिन्न व्यक्ति एवं संघसंस्थाले समर्थन जनाउँदै धनगढीलाई पर्यावरणमैत्री बनाउने कार्यमा ठुलो मदत मिलेको नगरप्रमुख हमालले बताए।

हरियाली प्रवर्द्धन गरेर धनगढीलाई पर्यावरणमैत्री सहरको रुपमा स्थापित गर्न सुरु गरिएको यो अभियानमा पाँच दिनमा ४ सय ६ वटा विरुवा वृक्षारोपणका लागि सहयोग प्राप्त भएको छ। यो अभियान अन्तर्गत असार २५ गते ६ लाख ४५ हजार, २६ गते दुई लाख ४० हजार पाँच, २७ गते चार लाख ७५ हजार, २८ गते पाँच लाख २० हजार ६३५ तथा २९ गते एक लाख ५० हजार १० रुपैयाँ गरी पाँच दिनमा २० लाख ३० हजार ६५० रुपैयाँ सहयोग प्राप्त भएको उपमहानगरपालिकाको तथ्यांक छ।

त्रिनगर भन्सारदेखि गोदावरी सीमासम्म ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्र वृक्षारोपरण गर्न उपमहानगरपालिकाले यस्तो अभियान सुरु गरेको हो। यस अभियानमा सहभागिता जनाउन प्रति विरुवा पाँच हजार शुल्क निर्धारण गरिएको छ। पैसाभन्दा पनि उपमहानगरपालिकाले सहभागिताको अपेक्षा गरेको हो।

उपमहानगरले सुरु गरेको यस अभियानमा नगरवासीले त खुलेर सहयोग र समर्थन गरेका छैन नै साथसाथै अन्य क्षेत्रमा बसोबास गर्ने तथा विभिन्न देशमा रहेका नेपालीहरुले गर्दै आएको सहयोग र समर्थनबाट उपममहानगरपालिका यतिबेला उत्साहित छ। स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले देखाएको साथ र समर्थनबाट हाम्रो धनगढी हामी बनाउँछौँ अभियानलाई बल पुगेको नगरप्रमुख हमालले बताए। यस अभियनमा स्कुले बालबालिकादेखि वृद्ध–वृद्धाको समेत सहभागिता बढ्दो छ।

कमेन्ट लोड गर्नुस