सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टाइगर टोलीका कमान्डरकै यस्तो हर्कत! तस्करसँग किन साँठगाँठ?

२०८० साउन १, १०:५८ खबर संवाददाता

धनगढीः कैलाली जिल्ला प्रहरी कार्यालयले तस्करी रोक्न खटाइएको सादा पोसाकको प्रहरी समूहलाई ‘टाइगर टोली’ नाम दिइएको छ। तस्करी नियन्त्रण गर्न खटाइएको टाइगर टोलीका कमान्डर हुन् हवल्दार लालबहादुर चन्द। करिब एक महिना अगाडि चन्द चौथो पटक टाइगर टोलीको कमान्डर चयन भएका हुन्।

प्रदेश प्रहरी प्रमुखमा पूर्व डिआइजी अशोक सिंह सुदूरपश्चिम आएपछि कमान्डर चन्द कारबाहीमा परेका थिए। भारतको वनगाउँ र धनगढीमा पनि पसल भएका गुप्ता थरका व्यापारीको तस्करीको सामान ल्याउन मद्दत गरेको आरोपमा चन्दलाई टाइगर टोलीको कमान्डरबाट हटाइएका थिए। यो भन्दा अगाडि पनि तस्करसँग मिलेमतो गरेको आरोपमा उनलाई जिम्मेवारीबाट हटाउने काम भएको थियो।

शनिवार साँझ पनि कमान्डर चन्द र सिपाही सागर लुहारले तिनै गुप्ताको तस्करीको सामान क्यारिङमा संलग्न महिलाबाट बरामद गरे पनि व्यापारीलाई नै फिर्ता गरे। तस्करी नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले नै बरामद गरेको लत्ताकपडाको पोको व्यापारीलाई फिर्ता गरे भने महिलालाई घर जान दिए। यो घटनाको भिडियो दिनेशखबरलाई प्राप्त भएपछि आइतवार सामाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित गर्नुपूर्व जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दसँग कुराकानी गरिएको थियो।

उनले सामान बरामद भएको र व्यापारीलाई बुझाएको विषय आफूलाई थाहा नभएको भन्दै टाइगर टोलीको बचाउ गर्ने प्रयास गरेका थिए। टाइगर टोलीका कमान्डर लालबहादुर चन्दले बिगतदेखि तस्करसँग मिलेर काम गर्दै आएका कारण टोलीबाट हटाइएको भए पनि पछिल्लो पटक टोलीमा कमान्डर बनाइएपछि चन्दले करिब २० दिन अगाडि धनगढी–३ विशालनगरका पडाल थरका युवालाई कुटपिट गरेका थिए।

क्यारिङमा संलग्न ती युवालाई कुटपिट गरेको घटना युवकका आफन्तहरूले बिरोध गरेपछि जिल्ला प्रहरी कार्यालयमा विवाद मिलाउने काम भएको थियो। युवासँग चन्दले गल्ती भएको भन्दै माफी मागेको स्रोतले बतायो। तीन पटक एउटै आरोपमा टाइगर टोलीको कमान्डरबाट हटाइएका चन्दलाई चौथो पटक नेतृत्व दिएपछि भारतबाट हुने तस्करी ह्वात्तै बढेको स्रोत बताउँछ। भारतको वनगाउँ, सुडा र पलिया र धनगढीमा समेत पसल भएका भारतीयहरूको सामान तस्करी गर्न टाइगर टोलीले सहयोग गर्ने गरेको खुलासा शनिवारको घटनाबाट समेत पुष्टि भएको छ।

सरकारले भारतबाट ल्याइने एक सय बराबरको सामानमा समेत भन्सार उठाउने निर्देशन दिए पनि धनगढीमा भने नेपाल प्रहरीको टाइगर टोलीको संरक्षणमा भारतीय ठुला व्यापारीको सामान तस्करी हुने गरेको छ। मोटो रकमको मोलमोलाइमा प्रहरीले तस्करीको सामान धनगढीसम्म ल्याउने वातावरण निर्माण गर्ने गरेको आरोप छ। मोहना नदीमा रातिको समयमा डुङ्गा प्रयोग गरेर तथा सोझै मिलेमतोमा भन्सारबाट दैनिक तस्करी हुने गरेको स्थानीय बताउँछन्।

मोहना नदी हुँदै गरिने तस्करी भने प्रहरीकै संरक्षणमा विहान ३ बजेदेखि ६ बजेको बिचमा हुने गरेको सीमा क्षेत्रका नागरिकको गुनासो छ। तस्करीका लागि लाइन मिलाउने काम टाइगर टोलीले गर्दै आएको बताइन्छ। यो विषयमा कैलाली प्रहरीका प्रवक्ता डिएसपी कुलदिप चन्दले प्रहरी हवल्दारसँग बुझ्दा शनिवार साँझको समयमा फनपार्क नजिक महिलाले सामान ल्याएको भेट्टाएको तर घरायसी सामान मात्रै रहेकाले छोडेको हवल्दार चन्दले बयान दिएको बताए। डिएसपी चन्दले पुलिसको आचरण विरुद्ध काम गरेको पाइए कारबाही गर्ने बताए। हवल्दार चन्द विगतमा पनि तीन पटक कारबाही परेर टाइगर टोलीबाट हटेको विषयमा भने थाहा नभएको बताए। आफू भर्खरै कैलाली आएकाले यो विषयमा बुझ्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस