सुदूर नेपाललाई विश्वसँग जोड्दै

असारे विकासले प्रदेश सभाभित्र पस्न सकस

२०८० असार ३१, ११:२९ नारायण अवस्थी

धनगढी: असारे विकासका कारण सुदूरपश्चिम प्रदेश सभाभित्र पस्न समस्या भएको छ। अरू समयमा गाडीसहित प्रदेश सभाभित्र पस्ने मन्त्री र सांसदहरू अहिले भने सडकमा गाडी पार्किङ गर्न बाध्य भएका हुन्।

प्रदेश सभाको प्रवेशद्वार बनाउने काम असार दोस्रो हप्ताबाट सुरू गरिएपछि सभामुख, मुख्यमन्त्री, मन्त्री र सांसदहरूको गाडी सडकमा पार्किङ गर्नुपर्ने अवस्था आएको हो। यो वर्षको बजेटमा प्रवेशद्वार निर्माण गर्ने बजेट ढिला आउँदा समस्या भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। प्रवेशद्वार निर्माण गर्न ल्याइएको मिक्चर मसिन निर्माणाधीन गेट भित्र बिच सडकमा राखिदा गाडी बाहिरै पार्किङ गर्नुपर्ने भएको हो।

अधिवेशन चलिरहेको समयमा निर्माण कार्य गरिँदा आवतजावतमा समस्या भएको हो। निर्माण कार्यमा प्रयोग गरिएको मिक्चर मसिन छेउमा लगाउन सकिने अवस्था भए पनि बिच सडकमा छोडिनुले निर्माण व्यवसायी सर्वसाधारणको सुरक्षाम कति संवेदनशील हुन्छन् भन्ने प्रष्ट भएको शनिवार साँझ प्रदेश सभा अगाडि भेटिएका जगतबहादुर सिंहले बताए। उनले असारे विकासको कारण सरकारी गाडी सडकमा पार्किङ गरिँदा असुरक्षा हुने चिन्ता गरेका छन्।

मिक्चर मसिन साइड लगाएर गाडी आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छैन। गौरीशंकर निर्माण सेवाले १० लाखको लागतमा प्रवेशद्वार बनाउन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस