कैलालीमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
धनगढीः कैलालीको मोहन्यालमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
शुक्रबार बेलुकादेखि प्रसुति ब्यथा लागेपनि शनिबार दिउँसोसम्म बच्चा नजन्मिएपछि मोहन्याल गाउँपालिका–४ ओखलढुंगाकी ३७ वर्षीया विमला सार्कीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो। सुत्केरी व्यथाले च्यापेर बिरामीको अवस्था जटिल हुँदै गएपछि आज (शनिबार) हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले बताए।
उनका अनुसार स्थानीय पण्डौन स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष उपाध्यायको समन्वयमा हेलिकप्टर बोलाएर गर्भवती महिलालाई कोहलपुर मेडिकल कलेज पठाइएको हो। ‘उपचार नपाएर जोखिममा परेकी गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेर जटिल बन्दै गएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकप्टरको खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ।’