सुदूरपश्चिम प्रहरीको आरआइटी समूह खारेज, २ प्रहरी छानबिनको दायरामा
धनगढीः नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज भएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुुन्।
बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका छन् भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ।
प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि शुुक्रवार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको पुष्टि गरे। आवश्यकता परेमा पुनः गठन गर्न सकिने एसएसपी महर्जनले बताए। सुदूरपश्चिममा साविक सुदूरपश्चिम विकास क्षेत्र हुँदा गठन गरिएको आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुर्व्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो।