सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीकै पालिकाभित्र बजेटको असमान वितरण

२०८० असार २९, ०७:२१ नारायण अवस्थी

धनगढीः आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा प्रकाश रावल आर्थिक मामिला मन्त्री थिए। उनले आफ्नो निर्वाचन क्षेत्र रहेको भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाको वडा नम्बर ८ मा १४८ सडक योजनामा बजेट विनियोजन गरेका छन्।

अहिले प्रदेश सभा सदस्य रहेका रावलले गत वर्ष आफू अर्थमन्त्री हुँदा भीमदत्त नगरपालिका वडा नम्बर १ मा ११ वटा सडक योजनामा ३ करोड १५ लाख बजेट विनियोजन गरेको पाइएको छ। वडा नम्बर १ मै सिँचाइ र तटबन्धका ८ योजनामा रावलले थप ३ करोड ४५ लाख बजेट छुट्याएका हुन्। भीमदत्त– २ मा १२ सडक योजनामा ४ करोड ३० लाख बजेट विनियोजन हुँदा सिँचाइ र तटबन्धका १२ योजनामा १ करोड ८२ लाख  बजेट हालिएको छ। भीमदत्तको वडा नम्बर ३ मा १५ वटा सडक योजनामा ४ करोड ६८ लाख बजेट विनियोजन गरिँदा सिँचाइ र तटबन्धका ७ योजनामा २ करोड ७० लाख बजेट हालिएको छ। भीमदत्तको ४ नम्बर वडामा ५ सडकका योजनामा १ करोड ४० लाख बजेट विनियोजन गरिएको कार्यक्रम पुस्तिकामा छ। गत वर्ष यो वडामा सिँचाइ र तटबन्धको योजना भने परेको छैन।

भीमदत्त–५ मा पूर्व मन्त्री रावलले ५ सडक योजनामा २ करोड ५० लाख बजेट विनियोजन गर्दा सिँचाइ र तटबन्धका ४ योजनामा ९२ लाख बजेट हालेका छन्। ६ नम्बर वडाका १० सडकका योजनामा ३ करोड १५ लाख बजेट राख्दा सिँचाइ र तटबन्धका ५ योजनामा १ करोड २५ लाख बजेट पारिएको पाइएको छ। भीमदत्त–७ मा सडकका ११ योजना परेका थिए। यी योजनामा ४ करोड ५५ लाख बजेट राखिएको छ। यस्तै, तटबन्ध र सिँचाइका ९ योजनामा २ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। भीमदत्त–८ मा सडक पूर्वाधारका ११ योजनामा २ करोड ४० लाख र तटबन्ध र सिँचाइका ४ योजनामा ८० लाख बजेट छुट्याइएको छ। तात्कालिक आर्थिक मामिला मन्त्री रावलले भीमदत्त–९ मा सबैभन्दा बढी १७ सडक पूर्वाधारका योजनामा ३ करोड २५ लाख र सिँचाइ तथा तटबन्धका  पनि १७ योजनामा ५ करोड ३० लाख बजेट विनियोजन गरेको पाइएको छ।

भीमदत्तको वडा नम्बर १० मा ११ सडक योजनामा २ करोड ७० लाख बजेट हाल्दा सिँचाइ र तटबन्धका १६ योजनामा १ करोड ९० लाख बजेट विनियोजन गरिएको थियो। भीमदत्त–११ मा भने ३ सडक योजनामा २ करोड २० लाख र तटबन्धको एक योजनामा १२ लाख बजेट परेको छ। गत वर्ष भीमदत्त–१२ मा सडकको एक योजनामा १५ लाख बजेट हाल्दा सिँचाइ र तटबन्धको योजना भने परेको छैन। वडा नम्बर १३ मा कुनै योजना परेको छैन भने १४ नम्बर वडामा एक कल्भर्ट र एक सडकको योजनामा २२ लाख बजेट छ। वडा नम्बर १५ मा चार वटा सडक योजनामा ९० लाख छ भने वडा नम्बर १६ मा कुनै योजना छैन। १७ नम्बर वडामा ४ सडक योजनामा ६५ लाख र तटबन्धको एक योजनामा २० लाख बजेट छ। १८ नम्बरका दुई सडकमा ४५ लाख बजेट विनियोजन गरिँदा तटबन्धका चार योजनामा ९२ लाख बजेट हालिएको छ।

भीमदत्तको १९ नम्बर वडामा १० सडक योजनामा २ करोड ८५ लाख बजेट हालिएको छ। आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वेदकोट नगरपालिकाको वडा नम्बर ८ मा १३ सडक योजनामा २ करोड ६८ लाख बजेट विनियोजन गरेका तत्कालीन आर्थिक मामिला मन्त्री प्रकाश रावलले सिँचाइ तथा तटबन्धका १० योजनामा ३ करोडौं २५ लाख बजेट विनियोजन गरेको पाइएको छ। भीमदत्त नगरपालिका उल्लेख भएका तर वडा उल्लेख नभएका थप ७ वटा सिँचाइ र तटबन्धका योजनामा २ करोड ८५ लाख बजेट विनियोजन गरिएको पाइएको छ। गत वर्ष तात्कालिक आर्थिक मामिला मन्त्री रावलले कञ्चनपुरका १३५ वटा  भवनका योजनामा ७६ वटा भवन भीमदत्त नगरपालिकामा परेका छन्। तात्कालिक आर्थिक मामिला मन्त्री रावलले भीमदत्त नगरपालिकामा केन्द्रीत गरेको बजेटको समान वितरण गरेका छैनन्।

भीमदत्तका केही वडामा बजेट खन्याएका पूर्व मन्त्री प्रकाश रावलले केही वडामा भने भौतिक पूर्वाधार तर्फको एक योजना पनि समावेश नगरेको पाइएको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस