सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ११० मेगााट विद्युत उत्पादन, १३२ केभीको दोस्रो सर्किट सञ्चालनमा

२०८० असार २९, ०२:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र निजी र सरकारी स्तरबाट गरी करिब एक सय १० मेगावाट विद्युत उत्पादन भइरहेको छ। सबैभन्दा बढी विद्युत उत्पादन दार्चुला र त्यसपछि बझाङबाट भइरहेको हो। दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट शुक्रबारदेखि सञ्चालनमा आएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने  एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो। निजी क्षेत्रबाट यस क्षेत्रमा धमाधम जलविद्यूतमा लगानी बढ्न थालेपछि प्राधिकरणले प्रशारण लाइन निर्माण गरेको हो। कोरियाली एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचनाहरू बनाइएकामा आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो।

नेपाल सरकारको करिब ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी सो लाइन सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिममा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणले जनाएको छ। सुदूरपश्चिममा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब एक सय १० मेगावाट विद्युत् जोडिएको छ। निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा एक सय ३२–३३ केभी सबस्टेसन सञ्चालित छ।

बलाँच सबस्टेसनबाट आएको  विद्युत् स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ। सो क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ। चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४÷७५ देखि सुरु गरिएको थियो।

कमेन्ट लोड गर्नुस