सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुचारु

२०८० असार २८, ०८:१३ खबर संवाददाता

बैतडीः बैतडीको पाटनमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरि सेवा सुचारु गरेको छ। बुधवारदेखि पाटन शाखाबाट सेवा सुचारु भएको राष्ट्रिय वाणिज्य बैंक पाटन शाखाका प्रबन्धक तपेन्द्र शाहले बताए।

जिल्लाको पाटनमा राष्ट्रिय वाणिज्य बैंकको शाखाले सेवा दिन थालेपछि बैतडीको पाटन, सुर्नया, मेलौली, शिवनाथ, पञ्चेश्वर, सिगास र पुर्चौंडीका नागरिकहरुलाई सहज हुने विश्वास गरिएको छ। यसअघि गोठलापानीमा मात्रै राष्ट्रिय वाणिज्य बैंकको शाखाले सेवा दिइरहेको थियो।

राष्ट्रिय वाणिज्य बैंकको २ सय ७३ औं शाखाको रुपमा पाटन शाखाबाट सेवा सुचारु भएको प्रबन्धक शाहले बताए। पाटनमै राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सेवा सुचारु भएपछि स्थानीय नागरिक समेत खुसी भएका छन्। बैंकिङ सेवामा सहज पहुँच पुर्याउने उद्देश्यसहित शाखा स्थापना भएको शाहले बताए।

पहिलो दिनमै २० लाख जतिको कारोबार भएको राष्ट्रिय वाणिज्य बैंक पाटन शाखाका प्रमुख शाहले बताए। पाटनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएपछि अब सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको सिगासकी लक्ष्मी शाह चन्दले बताइन्। सरकारी कार्यालयहरुको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट बढी हुने भएकाले अब पाटनमै शाखा विस्तार भएपछि सहज भएको उनले बताइन्।  
 

कमेन्ट लोड गर्नुस