सुदूर नेपाललाई विश्वसँग जोड्दै

राराको रमाइलो बर्णन यात्रा

२०८० असार २७, ११:२२ खबर संवाददाता

कबिराज शर्माः हरेक बर्ष जेठ÷असार महिनामा गंगादशहरा पर्ब पर्ने गर्छ। उक्त पर्बमा पबित्र तिर्थस्थल खप्तडमा मेला लाग्ने भएकाले सुदूरपश्चिम भरीका मानिसहरु रमाइलो तिर्थाटन गर्न खप्तड जाने गर्छन। प्राकृतिक रुपले अति सुन्दर भनेर चिनिएको खप्तड जाने हामीले पनि योजना बनाएका थियौ। एकजना मित्रले आफन्त बितेकाले यसपाली खप्तड जान नमिल्ने जानकारी दिए। अर्का मित्रले पनि जुठो परेकाले गंगा दशहराको बेला जान मिल्दैन पछि रामदेब बाबा आउदैछन, २२/२३ गते जाउला भन्ने कुरा गरेको गरेका थिए।

मार्तडीबाट एक्लैले गाडी भाडामा लिएर खप्तड जान निकै महगो रहेछ। कच्चीबाटोमा बुलेरो गाडीले करिब दुबैतर्फको २५/३० हजार भाडा लिने रहेछन। त्यसपछि पुनःखप्तड जाने सरसल्लाह गर्दा साथीहरुको सहमती हुन नसकेकाले यसपाली खप्तड जाने साइत जुरेन। अब रारा घुम्न जानुपर्छ भन्ने योजना बनाइयो। रारा कति टाडा पर्छ? रारा कुन सवारी साधनबाट जान सकिन्छ? बाटो के, कस्तो छ? पैदल कति हिडन पर्छ? खर्च के, कति लाग्छ? बाटो कहाँबाट जाने हो? आदि प्रश्नहरुमा केन्द्रीत भई छलफल गर्दा ५/६ जनाको हाम्रो समूह रारा जान तयार भयो।

बाजुरा जिल्लाको मार्तडीबाट स्कारपियो गाडी लिएर जाने सल्लाह भयो तर जानु भन्दा केहि मिनेट अगाडी एक जना मित्रले कार्यालयको कार्य ब्यवस्ता देखाएर यात्रामा जान नभ्याउने भनेर मलाई मोबाइलमा फोन गरे। ठीकै छ माया गर्ने मानिसले नै धोका दिन्छ भनेर हाम्रो समूहका पाँच जनाले रारा जाने नै निधो गरयौ। ठिक समयमा नै हाम्रो भ्रमण टोली मार्तडीबाट रारा यात्रामा निस्कियो।मार्तडी बजारलाई पूर्ब उत्तर हुदै परिक्रममा गरेपछि बाउली गाड तरी उकालो बाटो जानुपर्छ।

हाम्रो भ्रमण टोलीमा दुई जना बाजुराकै स्थानीय त्यसमा पनि एकजना स्वामीकार्तिक गाउपालिको स्थानीय भएकाले निसंकोच यात्रा सुरु भयो। गाडीमा सबै सामान हालियो। खासमा रारा जादा चाहिने सामानहरु के के हुन सक्छन? छाता वा रेनकोट, टर्चलाइट, जाडो मौसममा लाउने लुगा कपडा, टोपी, जकेट, टेक्ने लठ्ठी, खानेकुराहरु–ड्राई फ्रुट, गेडागुडी, अमिलो अचार जस्ता खानेकुरा। दुई जोर न्यूनतम हल्का खालका लुगा तथा झोला यात्रामा चाहिने सामानहरु हुन।

हाम्रो महिन्द्रा स्कारपियो गाडी बाउली खोला तरेपछि उकालो लाग्यो। यसपाली कोल्टी जाने बाटो पिच हुदैछ। त्यसैले बाटो राम्रै होला भन्ने कुरा भयो। हराभरा प्रकृति, सुन्दर शान्त बन एकातिर देखिन्छ भने अर्का तिर गाउँबस्ती, घरदेशको रमाइलो बेग्लै छ। साथमा पाका र अनुभवी साथीहरु हाम्रो टोलीमा हुनुहुन्छ। त्यसैले रमाइलो यात्राको अनुभव हुन थालेको छ। बाजुरा जिल्लाको जिल्लीगाउ, जातोली हुँदै ढम्कने भएर काध पुग्नु पर्छ। उकालो सडक बाटोमा हाम्रो गाडी फस्ला जस्तो भयो।

राती परेको पानीले बाटो बिग्रको रहेछ। ‘जेठमै बाटो बिग्रेछ, असार, साउन, भदौमा कस्तो होला। ‘भ्रमणदलको एक सदस्यले गुनासो गरे। खासमा हाम्रो गाडीमा फोर ह्वील बिग्रेको हुनाले गाडीलाई उकालो चढन अली कठिन भएको रहेछ भन्ने अनुमान गरियो तर कुशल चालक भएकाले केहि क्षणमा नै गाडी अगाडी बढयो। खासमा रारा यात्रामा जादा फोर ह्वीलर गाडी वा १५० सिसीको भन्दा बढीको बाइक आवश्यक पर्ने रहेछ। काँध भन्ने स्थान आउन अगाडी एउटा लौठ सल्लाको जंगल आउछ, यो जंगलका रुखहरुलाई मैले तराइको सालाका रुखहरुसँग तुलना गर्ने गरेको छु।

निकै पुराना,निकै अग्ला र बलिया देखिने ति रुखहरु, यो क्षेत्रको इतिहास हुन। अग्रेजी फिल्ममा देखिने अमेरिका तथा क्यानडको जंगल जस्ता देखिने ति रुखहरु निकै सन्दर छन। काउलोका फूलले जंगल नै सेताम्य देखिएको छ। रमणिय छ बन जंगल, ठाउ ठाउमा भैसी गोटालाहरु भेटिन्छन। यसले वास्तबमै स्थानीय प्रकृति र सस्कृतिको झ–झल्को दिन्छ। अब उकालो सकियो, हामी बाजुराको माथिल्लो र तल्लो क्षेत्र छुटाउने स्थान काँध पुगि सकेछौ।

जाँदाजाँदै दायातिर एउटा सेतो रङको नया निर्माण गरिएको सुन्दर गुम्वा र अर्को पुरानो ढुङगा नै ढुङगा राखिएको हिन्दु मन्दिर देखिन्छ।उक्त हिन्दु मन्दिर जिर्ण र अव्यवस्थित छ। कुन देबी, देबताको मन्दिर हो? के चढाउने हो? न कुनै साइनबोर्ड, नत कुनै सिलालेख नै? न कुनै साजसज्जा, लिपपोत नै? केहि छैन। हिन्दुहरुको मन्दिर पुरानो र जिर्णदार हुन नसकेको भनेर अनुमान लगाउन सकिन्छ। मैले एकजना स्थानीय मित्रलाई यो ठाउँमा नयाँ मन्दिर बनाउँदा राम्रो हुने सल्लाह दिएका थिए तर मित्रले हाम्रो यस्तै चलेको छ।

आउने जानेले त्यसमा ढुङगा राख्दै जाने हो भन्नु भयो। अर्का जनप्रतिनिधी मित्रलाई पनि मैले त्यो मन्दिर पुनःनिर्माणका लागि अनुरोध समेत गरेको थिए, तर मित्रले खासै चासो देखाउनु भएन। बाजुरामा वास्तवमै धार्मिक आस्था खस्किदो छ। पुराना धर्मशालाहरु र मठ मन्दिरहरु जिर्ण अवस्था छन। यिनको जिर्णोद्धार, पुननिर्माण तथा मर्मत रेखदेख गर्नु जरुरी भैसकेको छ। वास्तबमा काँध पुगेपछि रमाइलो आनन्द महसुस गरियो। कालाचक्रा भन्ने डाँडा यहाँको महत्वपूर्ण स्थान रहेछ। म यस अगाडी त्यहाँ नजिक पुगेर फर्केको छु।

बसन्त ऋतुमा यो जंगल असाध्यै सुन्दर देखिन्छ। ढकमक फुलेका लाली गुराँस र त्यसमा पनि स–सानो बुटयानमै फुलेका सेतो गुरास हेर्दा त यो जंगल छाडेर जाने मनै लाग्दैन। तर हामीले रारा पुग्नु पर्ने छ। वास्तबमा काँधमा केहि होटलहरु छन र त्यहाँ कार्की दिदी बहिनीका होटल सफा, सुग्घर र मिठा खाना पाउने चलेका होटल हुन। यहाँ स्थानीय मार्सी चामलको खाना पाइन्छ। स्थानीय धिउ, मुला (स्थानीय भाषामा चोतो भनिने),सिमी, लोकल कुखुरा र खसी यहाँका बिशेष प्रकार हुन।

काँधबाट बालीनाली सहितको स्याउ बगैचा हुदै तल पाण्डुसैन भन्ने स्थान भएर यात्रा अगाडी बढछ। पाण्डुसैनको जिउलो÷फाँट देखेपछि रमाइलो लाग्छ। किर्तिपुरको फाँट जस्तै छ। माथितिर गाउ छ, तल मार्सी फल्ने सिमखेत जिउलो छ। बुढीनन्दा नगरपालिकाका मेयरको घर पनि पाण्डुसैन नै रहेछ। साथीहरुले घरपनि देखाउन भ्याए। अब केहि खोला तर्दै स्कारपियो गाडी कोल्टी बजार पुग्यो। मेयरसाब बाहिर हुन हुँदो रहेछ। टेलिफोन नेटवर्कका कारणले कुराकानी राम्रो हुन सकेन। कर्णाली कोरिडोर पुगेपछि फोन लाग्यो, आउदा पस्नुहोला सर भन्नु भयो।

उहाँको निमन्त्रणा सहर्ष स्वीकार गरेर हामी अगाडी बढयौ, किनकी हामीले धुलाचौर वास बस्ने सल्लाह गरेका थियौँ। अब हामी बाजुराको कोल्टीको फाँटको बिच भागमा रहेको एअरपोर्ट हेर्दै बाटोको दक्षिणी भागमा रहेका फाँटहरु र वारिपारिका गाउको सुन्दर दृश्य हेर्दै अगाडी बढयौ। कलकल निलो पानी सलल बगेको कर्णाली नदी, त्यसको पश्चमि पट्टी पादुका मन्दिर छ भने दक्षिणमा स्वामीकार्तिकको केन्द्र पिलीचौर बजार देखिन्छ।

हामी पादुकालाई दाहिने पारेर राँगेभिर हुदै बेलुकीको अस्ताउन लागेको घामको दृश्य हेरेर फोटो खिच्दै हिमाली पालिकाको केन्द्र धुलाचौर पुग्यौ। हिमालीका अध्यक्षज्यू असाध्य अनुभबी, पाको राजनितिज्ञ, उहाँले फोनबाटै स्वागत गर्नु भयो। अध्यक्षज्यूकै आथित्यतामा कर्णाली किनारको धुलाचौर बास बस्ने भैयो। बिहान कुखुराको आवाजसँग झसङग उठियो। आज दोस्रो दिन, हामीले धुलाचौर छोडेर पारि मुगु हिडनु थियो। हाम्रो पुरानो गाडी पारि जाने अवस्थामा थिएन।

होटल साहुसंग भाडाको गाडीको कुरा गर्दा कोहि एकतर्की बाटोको १२ हजार त कोही १४ हजार भन्दा रहेछन। पछि बल्ल तल्ल ८ हजारमा मुगुको मसाने सम्मको यात्राकालागि बिहानै बुलेरो गाडी जान मञ्जुर भयो। हामी सरर गाडीमा बसेर कर्णालीको बेलीब्रिज पार गरेर रारा तर्फको यात्रा सुरु गरियो। बाजुरा र कर्णाली जोडने यो बेलीब्रिजी कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले उदघाटन गरेका रहेछन। प्रकृतिले कर्णालीलाई जति सुन्दर बनाएको छ तर भूगोल उत्तिकै जटिल र उजाड देखिन्छ।

अलि अगाडी गएपछि मुगुको झुगला आयो, कर्णालीको किनारको एक फाँट तर उजाड छ सायद सिचाई नभएर होला। एकजना मित्रले भने ‘ल हेर कस्तो उजाड डडेलधुरा भा, भए कति तरकारी फलेका हुन्थ्ये। कस्तो हराभरा देखिन्थ्यो।’ अब, हामीले सुदूरपश्चिम प्रदेश छोडी सकेका थियौ। हामी कर्णाली प्रदेशको स्वायतशासन भित्र थियौ। खत्याड खोला पुग्न अगाडी एउटा भिरबाट पहिरो खसेर अगाडी दश, बाह्र ओटा टेक्टर जाममा फसेका रहेछन। केहि चालकहरु पहिरो पन्छाउन लागिरहेका थिए।

यो पहिरो पनि नारायणगढ मुङलिग सडक, डडेल्धुराको रडुवा, कैलालीको भासुभिर, बाजुराको बल्देको जस्तै पहिरो रहेछ। पानी नपरे पनि जुनसुकै बेला झरिरहने। करिब पौने घन्टाको मिहनेत पछि पहिरो पन्छाएर हामी अगाडी बढेको त खत्यात खोलाको डरलाग्दा दृश्य देखियो। त्यसपछि मुगुकै सुकाडेक, आम, रातापानी हुदै अगाडी बढदा रातापानीमा कृषि पढाइ हुने कलेज रहेछ। जामिरबगरमा खोलाले एउटा साना जलबिद्युत आयोजना नै बगाएको रहेछ। स्थानीयको गाउबस्ती झिलीमिली पार्ने सपनामाथि तुसारपात भएको रहेछ।

हामी चढेको बुलेरो गाडी उकालो हुदै खत्याडको सानो बजार माझचौर पुग्दा बिहानको ९ बजेर केहि मिनेट भइसकेको थियो। हामीले बिहानको खाजा खाने होटल खोज्यौ। त्यहाका प्राय होटलको नाम रारा वा कर्णालीको नामबाट राखिएको रहेछ। माझचौर खत्याड गाउपालिकाको केन्द्र रहेछ।केहि बैक तथा बित्तिय संस्थाका शाखाहरु, पालिकाको कार्यालय, प्रहरी चौकी तथा अन्य स्थानीय कार्यालय रहेछन। कार्की होटलमा राम्रो खाना, खाजा पाइन्छ भनेर एकजना स्थानीयले जानकारी दिए। साच्चिकै उक्त होटलकी साहुनी साह्रै जागरिली रहिछीन।

खाजा, खाना खाने मानिसहरुको भिड रहेछ। हामी पनि एक कुनामा गएर बस्यौ। तुरुन्त तातो पानी आइहाल्यो। यहाँ स्थानीय कोदोको रोटी, आलुको तरकारी र सिमीको दाल पाइने रहेछ। यो सबै लोकल, अर्गानिक र स्थानीय उत्पादन नै रहेछ। बिहानको खाजा खाएर हामी अगाडी बढयौ। ढुङगाले सुन्दर तरिकाले मिलाएर चिनेका असाध्य सुन्दर, ढुङगेघर मुगुको अर्को बिशेषता रहेछ। बाहिरपट्टि सिमेन्टले प्लास्टर गर्नै नपर्ने। डकर्मी कति सिपालु रहेछन कुरा गरी साध्य नै छैन।

ढुङगा पनि उस्तै मिलेका सेता सेता, जति हेर पनि हेरर नअघाउने, जति प्रसंसा गरे पनि नपुग्ने। यो प्रबिधिको अन्ततिर पनि बिस्तार र प्रचार गर्न जरुरी छ। सेहरीऽदाहालबाडा हुदै केहि बेरमा हामी मुगुको मसाने पुग्यौं र चालकले ल सर हजूरहरु यहिसम्म हो, अगाडी गाडी जादैन भनेर गाडी एक ठाउमा टक्क रोके। चालकलाई सम्झौता मुताबिकको भाडा रकमसहित धन्यबाद दिएर हामी अगाडी बढ्यौ। अब हामीले पैदल भएर नै राराको दर्शन गर्नु पर्ने थियो।

सलल बगेको खत्याड खोलालाई दाया पारेर सबैले आ–आफ्ना झोला बोकेर अगाडी बढियो।अब हामीलाई लठ्ठी चाहिने रहेछ। उकालो वा ओरालो हिडन लठ्ठी साथी नै हुने रहेछ। केहि साथीहरुले नजिकैबाट लठी भाचे। अब साथीहरुले रारा कति टाढा छ भनेर हिटारुलाई सोध्न थालेका थिए। जवाफमा ३÷४ घन्टा जति लाग्छ भन्ने जवाफ पाइन्थ्यो। बिस्तारै निगालीबोट पुगियो। निगालीबोटमा निगालाकै जंगल रहेछ त्यसैले नामै निगालीबोट। निगालाबाट स्थानीयले डोका, डाला, सुप्पा छाप्रा लगायतका सामाग्री बनाउने गर्छन। हामीले साथमा बोकेर लगिएको मम्फली (बदाम) र फलफुल खादै राराबाट बगेको खत्याडखोलाको किनारै किनार रमाइलो पैदल यात्रा अगाडी बढायौं।

करिब एक घण्टाको पैदल यात्रापछि हामी रारा राष्ट्रिय निकुञ्जभित्र प्रबेश गरौं। खत्याड खोलाको किनारमा थकाइ मार्ने चौतारीहरु र भेडा राख्ने ओडारहरु देखिन्छन। हिमाली सल्लाका रुखहरु, काउलोका फूलफुलेका अग्ला रुखहरु र पिपलीको जंगल छिचोलेर हामी अगाडी बढनको बिकल्प थिएन। केहि अगाडी गएपछि राष्ट्रिय निकुञ्जको संरक्षण कार्यालय र अर्को पट्टी सेनाको ब्यारेक रहेछ। यहाँ आन्तरिक पर्यटकलाई रु.एक सयको टिकट लाग्ने रहेछ। रसिद काटेर केहि रारा सम्बन्धी जानकारी लिएर खोलाको किनारै किनार अगाडी हिडियो।

अव खाना कता खाने त? हाम्रा साथीहरुले सल्लाह गरी रहेका थिए। अगाडी बढदै जादा निकुञ्जभित्र नै केहि परम्परागत खर्कहरु रहेछन। त्यहाँ आउने जाने बटुवालाई खान बस्नको ब्यवस्था हुने रहेछ। हामीले जुम्ला उचिढुङगाबाट बसाइ सरेका रोकायाको खर्क होटलमा खाना खाने निर्णय गरौं। स्थानीय मार्सी चामल, आलुको प्याजको तरकारी र स्थानीय सिमीको दाल नै यहाँको सर्बप्रिय खाना रहेछ।हामीले सोहि खाना खाएर रारा पुग्ने निधो गरियो। खत्याड खोलाका स्थानीयहरुको सरकारी कामकाज मुगुको सदरमुकाम गमगडी हुने रहेछ।

सदरमुकामबाट फर्केका स्थानीयलाई रारा कति टाडा छ भनेर सोधनी गर्दा महिलाले प्राय सबै जसोले दुई घण्टा भन्ने मिठो जवाफ दिन्थे भने लोग्ने मानिसहरुले तपाइहरुलाई ३ घण्टा जति लाग्ला भन्ने गर्दथे। अब हामी निकै उचाइमा पुगि सकेका रहेछौ। रारा निकुञ्जको बनस्पतीको वारेमा कुरा गर्नु पर्दा खासमा सल्लाका अनेकौ प्रजाती पाइने रहेछन, सात थरीको सल्ला प्रजाती नै पाइने रहेछ। लौठ सल्ला, धुपी सल्ला, चाप सल्ला....आदि आदि के, के हुन केके? तर रारा निकुञ्जभित्र मानब बस्ती देख्दा अचम्मै लागेको थियो।

राराको छेउमै एउटा गाउ नै रहेछ। अब हामी त्रिलोक हुदै माझघट्ट भन्ने ठाँउमा पुगेका रहेछौ। खोलाको पश्चिम पट्टी धेरै घरहरु र एक दुई ओटा घट्टहरु पनि देखिए। ति घरहरुमा होटल खोलीएका थिए। जेठको महिना अलिअलि सिम सिम पानी परेको छ, भैसी र भेडाहरुको खुरले बाटो पनि अलि हिलो भएको हरेछ। हामी स्थानीय मानिसहरुसँग कुराकानी गर्दै अगाडी बढदै जाँदा दुई तिनतले सुन्दर तरिकाले चिनेर कौसी सहित नेपाली परम्परा झल्किने गरी बनाएका घर तथा होटल देखेर हामी मनमोहक भयो।

हामीले रारा भेट्टाइ सकेका रहेछौ। एकजना होटलको मानिसले सर यतै बस्नुहोस, होटल पनि सस्तो छ भनेका थिए तर हामी रारालाई भेटन यति आतुर थियौ की हाम्रो मन थाम्नै सकेनौ। पाँच सय मिटर तलसम्म ढुङगाको स–सानो बाध बनाएर पानीलाई रोकेको रहेछ। पानीमा पुरै लेउ लागेको थियो र साथ साथै टिउरा माछा पनि देखिन्छन। यहाँ भैसीहरु चरिरहेको, स–साना सुन्दर पहेला फूलहरु फुलेको दृश्यले हामीलाई आक्रषित गरिरहेको थियो। आहाँ नभन्दै राराको छेउमै पुगियो। सरकारले एउटा बेलिब्रिज बनाएको रहेछ।

बेलीब्रिज मुनिबाट राराबाट निस्रित खत्याड खोला बगेको देखिन्छ। रारा तालनै खत्याड खोलाको मुहान हो। हाम्रा मित्रहरु खुशीले फोटो सेसनतर्फ लागे। रारा त स्वर्गकी अप्सरा नै रहेछ। कति हो कति रमाइलो भनेर साथीहरु हर्षित भए। राराको चारैतिर काठले बनेका भिउ टावरहरु बनाइएको रहेछ। पर्यटकहरुका लागि एउटा लज पनि खोलीएको रहेछ। हामीले सोहि लजमा रात बिताउने निर्णय ग¥यौ। अब, हामी रारालाई नजिकैबाट नियाली रहेका थियौ। चारेतिर घना जंगलले ढाकेका चखेली लेक, केहि पर छायानाथ हिमालको सुन्दर दृश्यले कसलाई रमाइलो नलाग्ला। हामीले नेपाली सेनाको ब्यारेक अगाडी डुङगा चढने स्थानमा जानकारीका राखिएका सूचना बोर्ड हेर्न थाल्यौ। डुङगा चाहि बिहान ७ बजे देखि १२ बजेसम्म मात्र चढन पाइने रहेछ।

दिउसो १२ बजेपछि जोडले हावा चल्ने भएकाले डुङगा नचल्ने जानकारी पाइयो। तत्कालिन स्व.राजा महेन्द्रबाट पनि रारामा भ्रमण गरेको तिथि मिति समेत देखियो। रारा तालको उचाई २९९० मिटर र लम्बाई ५.२ किलोमिटर चौडाई ३.२ किलोमिटर रहेको जानकारी पाइयो। डुङगा चढेको भाडा दर पनि थरी थरीको रहेछ। तीन सयदेखि तीन हजार रुपैयाँसम्म दररेट, समय र ताल वरिपरिको दुरीका आधारमा निर्धारण गरिएको रहेछ। अब साझको झिसमिसे अध्यारो भइसकेको थियो।

हामी पुनः कर्णाली लजमा फर्कियौ तर राराको कर्णाली लजमा पनि थरि थरिका मानिसहरु देखिए। राराको यात्रालाई रमाइलो बनाउन प्रेमिल जोडीहरु पनि भेटए, चिसो बियरको चुस्की लगाएर रातलाई तातो बनाउन क्याम्प फायर गरेरहेका समूहहरु पनि देखिए। जे होस त्यो राती उक्त लजको बसाइ सन्तोषजनक नै रहयो। दोस्रो दिन निद्राबाट बिउझिदा झिलीमिली उज्यालो भइसकेको थियो। हामीले बिहानको चिया बिस्कुट खाएर डुङगामा रारा शयर गर्ने सल्लाह ग¥यौ। ‘सरहरु लाइभ ज्याकेट लाउनुहोस’ डुङगाका चालकले सुन्तला रङका लाइफ जाकेट दिदै लगाउने तरिका समेत बताए।

चालकले भने अनुसार गरेर हामी तुरुन्तै डुङगामा बसेर अगाडी बढदै गर्दा कता कता मनमा अलि डर पनि लागेको थियो तर राराको सुन्दर दृश्यले सबैथोक बिर्सायो। एकै छिनमा सबै बिर्सेर मित्रहरु गित गाउन थाले भने फोटा भिडियो खिच्नतिर लागे। मैले त फेसबुक मेसेञ्जरबाट घरपरिवारलाई राराको लाइभ दृश्य देखाउन समेत भ्याए। यति गर्दा गर्दै हामीले करिब पाँच किलोमिटरको तालको यात्रा सकिसकेका थियौं। माझी दाईहरुलाई धन्यबाद सहित टिप्स सहितको भाडा दिएर फोटो लिई बिदाइका हात हल्लायौ।

खत्याडको मुहान हुदै पुनःमाझघट्ट, त्रिलोक, अङाउपानी, भोटे ओडार, संरक्षण कार्यालय, निगालीबोट, मसाने, दाहालबाडा, सेरी, माझचौर, खत्याड जिउलो, रातापानी हुदै धुलाचौर, कोल्टीऽ पान्डुसैन काध, धम्कनेबाट जिल्ली हुदै मार्तडी बजार पुगियो। अब, राराको यात्रा के कसरी गर्न सकिन्छ भन्ने पाठक बर्गको जिज्ञासा मेटाउने प्रयास गरिएको छ।

दुई तरिकाले रारा जान सकिन्छः पहिलो हो हवाईजहाजबाट–धनगढी वा महेन्द्रनगरबाट चारपाङग्रे गाडीमा सरर नेपालगञ्ज बिमानस्थल पुगेर त्यहाँबाट हवाइजहाज चढी मुगुको ताल्चा बिमानस्थल हुदै सदरमुकाम गमगडीबाट तीन घण्टा जतिको पैदल यात्रामा रारा पुगिन्छ। दोस्रो बिकल्प हो सिधै गाडीबाट वा मोटरसाइकलबाट अत्तरिया बजार हुदै खाँनीडाडा भएर डडेलधुरा, दिपायल, सिलगडी, अछामको साफेबजार हुदै बाजुराको सदरमुकाम मार्तडीबाट कर्णाली कोरिडोर भएर धुलाचौरमा बेलीब्रिज तरेर मुगु जिल्लाको मसाने सम्म गाडीमा र मसानेबाट ४/५ घण्टाको पैदलयात्रा गरेपछि रारा पुगिन्छ। अर्को बिकल्पः अछामको साफेबगरबाट मंगलसेन हुदै मध्यपहाडी लोकमार्ग भएर राकम कर्णालीमा पक्की बेलीपुल तरेपछि कर्णाली राजमार्ग हुदै जुम्लाबाट मुगुको सदरमुकाम गमगडीबाट तीन घण्टाको पैदलयात्रापछि रारा पुग्न सकिन्छ। (प्रतिक्रियाको लागि [email protected] (लेखकः सरकारी वकील बाजुरा)

कमेन्ट लोड गर्नुस