भारु कारोबारमा अवमूल्यन, सीमावर्ती बजारमै भारु साट्न मान्दैनन् व्यापारी
धनगढीः सीमावर्ती बजारमा भारु नोट चल्न छाडेपछि कैलाली र कञ्चनपुरका पर्यटन र होटल व्यवसाय प्रभावित भएका छन्। यहाँका पर्यटन र होटल व्यवसाय भारतीय पर्यटकमा निर्भर छन्। भारु नचल्ने अवस्थाकै कारण सीमावर्ती बजारको खरिद बिक्रीमा पनि प्रभाव परेको छ। भारु १ सयमाथिका नोट नेपालमा प्रतिबन्ध नै छ। भारु १ सयका नोट चलाउन पनि व्यवसायीले आनाकानी गर्छन्।
भारु १ सयमा १० रुपैयाँ बट्टादर (डिस्काउन्ट) दिँदा पनि नेपालको सीमावर्ती बजारमा चल्न छाडेको छ। १ सय भारु बराबर १६० नेरु तोकिएको विनिमयदर हो। तर सीमावर्ती बजारमा तोकिएको दरमा कारोबार हुन छाडेको महिनौं भइसक्यो। भारु नोट चल्नै छाडेपछि भारतीय नागरिक आउने क्रम पातलिएको र त्यसले पर्यटन तथा होटल व्यवसायमा ठूलो प्रभाव पारेको धनगढीका होटल व्यवसायी विष्णुजित पाण्डेले बताए।
पछिल्लो समय भारु नोट चल्न छाडेपछि कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउने भारतीय पर्यटक निकै कम छन्। भारु नोट चल्न छाडेपछि पर्यटकको संख्यामा कमी आएको व्यवसायीको दाबी छ। २०४१ देखि भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा हुने स्थिर विनिमय दर कायम छ। तर, वैध रुपमा कायम भएको यो सटही दर अहिले सीमावर्ती क्षेत्रमा कायम छैन। नेपाली रुपैयाँ दिएर भारतीय रुपैयाँ लिँदा कमिसन नतिरी उल्टै सटही दरभन्दा बढी पैसा पाइरहँदा नेपालीहरु अच्चम्ममा परेका छन्।
कैलालीमा पर्यटकस्तरीय होटल दर्जनको हाराहारीमा छन्। भारतीय पर्यटकमा आधारित ती होटलमा अर्वौ लगानी भइसकेको छ। भारु नोट नचल्दा यतिबेला धेरै होटल खाली भएको सञ्चालक बताउँछन्। १ सय भारुलाई नेरु १५० मा दिँदा पनि लिन मान्दैनन्। भारतीय नोट नचल्दा कैलाली र कञ्चनपुरसहित सुदूर पहाडका सीमावर्ती बजारको चहलपहल पनि प्रभावित बन्न पुगेको छ। सीमावर्ती भारतीय बजार गौरीफन्टा वनगाउँका व्यापारीले समेत भारु लिन आनाकानी गर्ने गरेको गोदावरी नगरपालिका–१ अत्तरियाका किराना व्यवसायी विकास जोशीले बताए।
भारु नोट नचल्दा बजारको खरिद बिक्री ४० प्रतिशतले घटेको व्यवसायीको दाबी छ। कुनै बेला भारु लिन होडबाजी गर्ने व्यवसायी यतिबेला भारु लिन मान्दैनन्। पहिले सटही सेन्टरले १ सय भारुलाई नेरु १६५ रुपैयाँसम्म हालेर किन्थे। अहिले भने भारु कारोबारमा अवमूल्यन भएको छ। मजदूरीका लागि भारत पुगेर फर्कनेले पनि भारु बोकेर आउनु र कालोबजारीबाट भारु भित्रिँदा बजारमा भारुको भाउ घटेको व्यवसायीको बुझाइ छ।
जहाँ भारु चल्दैन
कैलाली–कञ्चनपुर सीमा नजिकै पर्छ डोकेबजार। डोकेबजारले कैलीली–कञ्चनपुरको सीमा मात्र नभई नेपाल–भारतको पश्चिमी नाका गौरीफन्टा पनि जोड्ने गर्छ। त्यहि नाका हुँदै रोजगारको लागि भारत जाने नेपालीहरूको घुइँचो हुन्छ भने भारतबाट नेपालमा व्यापार गर्न आउनेहरूको भीड लाग्ने गर्छ। डोकेबजारसँगै जोडिएको गौरीफन्टादेखि वनगाउँसम्मको दूरी झन्डै ३ किलोमिटर छ। यसअघि गौरीफन्टामै रहेको बजार ८ वर्षअघि वनगाउँमा सरेको हो।
राष्ट्रिय निकुन्जको मध्य भागमा अवस्थित वनगाउँ पुग्न या दिल्ली जाने बस चढ्नुपर्छ, नभए काठमाडौंमा चल्ने पठाओ जस्तै स्थानीयले चलाउने मोटरसाइकल। मोटरसाइकल चलाउने भारतीय नागरिक नै हुन्छन्। उनीहरूले एउटा मोटरसाइकलमा चालकसहित तीनजना यात्रु ओसारपसार गर्ने गर्छन्। झन्डै १५ देखि २५ मिनेट समय लाग्छ। गौरीफन्टा नाकाबाट वनगाउँ पुग्न बाइकमा एकजना बराबर ५० रूपैयाँ तिर्नुपर्छ भने बसमा जाँदा प्रतिव्यक्ति १० रूपैयाँको टिकट लाग्छ।
भारतको उत्तर प्रदेश प्रान्तस्थित लखिमपुर खिरी जिल्लामा पर्छ, ‘वनगाउँ’। जुन भारतको डुढवा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र अवस्थित छ। भारतीयले त्यो बजारलाई ‘वनगवा’ भन्छन्। वनगाउँ गएर सानोठूलो सामान किनमेल गर्नेमा कन्चनपुरको पुनर्वास नगरपालिकाका, कैलालीको धनगढी आसपासका गाउँका मानिसहरू बढि हुन्छन्।
यति मात्र नभई पहाडी जिल्ला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुराका थोक तथा खुद्रा व्यापारीले वनगाउँबाट लाखौंको सामान खरिद गर्न त्यहाँ पुग्छन्। धनगढी र स्थानीय बजारका व्यापारीहरू भने होलसेल तथा अन्य ठूलो सामग्री ल्याउनुपरे नजिकैको ठूलो बजार पलिया पुग्ने गर्छन्। वनगाउँ यस्तो बजार हो, जहाँ झन्डै शतप्रतिशत कारोबार नेपाली रूपैयाँमा हुने गर्छ। र, त्यहाँको मार्केट धान्ने ग्राहक शतप्रतिशत नेपाली नै हुन्।