सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटनाः २५ जना डिस्चार्ज, ६ जना धनगढी रेफर

२०८० असार २६, ०७:४४ खबर संवाददाता

बैतडीः बैतडीको मेलौली नगरपालिका वडा नम्बर–७ सुवाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ।

मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, संगीता रावत, दिपीका भट्ट , विसन भट्ट र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले जानकारी दिए। बाँकी घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका थिए। तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको छ। दुर्घटनामा पञ्चेश्वर गाँउपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो।

पञ्चेश्वर गाँउपालिका–३ कुलाउँबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस सोमवार दिउँसो १ बजे दुर्घटनामा परेको थियो। सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस