सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८० असार २४, ०८:०० खबर संवाददाता

धनगढीः  नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय महेशराम लावड पक्राउ परेका हुन्। उनले आफ्नो नाम दिनेश विष्ट भन्दै काठमाडौ बोलाएर ठगी गर्दै आएको खुलेको छ। लावडले डोटीको पुर्बीचौकी गाउँपालिका–७ का देवबहादुर विकलाई नेपाल आर्मीको भान्सेमा जागिर लगाइदिन्छु भनी ठगेको पाइएको हो। उनले कागजात माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फाराम भर्ने काम गरेका थिए।  महेशरामले  देवबहादुर विकबाट  ४ लाख २० हजार रकम खाएको खुलेको छ। देवबहादुरलाई काठमाडौ बोलाएर  रकम बुझेपछि  महेशराम सम्पर्क बिहिन भएका थिए।

देवबहादुरले महेशरामको नाममा ठगीको निवेदन दिएपछि उनको खोजतलास सुरु भएको थियो। खोजतलासपछि उनी दिनेश विष्ट नभई महेशराम लावड रहेको खुलेको हो। उनी नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरी सो पश्चात सुर्खेत ब्यारेकबाट भागेको पाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो( शनिबार) बाँके जिल्लाको राप्तीसोनारी गाउपालीका वडा नम्बर–९ शम्सेरगंजबाट पक्राउ गरिएको हो। उनी विरुद्ध ठगी सम्बन्धी मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै, उनले देशका भिन्न स्थानमा फरकफरक  नाम र ठेगाना भन्दै आएको खुलेको छ। उनले आफ्नो नाम मनोज रावत, रमेशसिंह बिष्ट, मनोजसिंह बिष्ट, दिनेश बिष्ट भनी बताउने गरेको र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुसँग राम्रो सम्बन्ध छ भन्दै ठगी गर्ने गरेको खुलेको छ। सुर्खेतस्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरी दिने भनी एक जना महिला र कार्यालय सहयोगीमा भर्ना गरी दिने भनी अर्का एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ।

महेशरामले अन्य व्यक्तिलाई ठगी गरेको हुन सक्ने भएकाले कोही कसैलाई ठगी गरेको भए कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस