सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप भलिबल सुरु

२०८० असार २३, ०८:५८ खबर संवाददाता

काठमाडौँः नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौँ प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ। लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्।

पहिलो दिन नेपाल पुलिसले पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लब सँग अङ्क बाँड्न बाध्य भएको छ। आज पहिलो दिनको खेलमा पुलिसले विदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेस्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो। चौथो सेटमा ६ अङ्कको अग्रता लिँदै जितको नजिक पुगेको पुलिसले आफूलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो। अन्तिम तथा निर्णायक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी सँग अङ्क बाँड्न बाध्य भयो। पुलिसको यस खेल पश्चात् २ अङ्क र गण्डकीको १ अङ्क भएको छ।

आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल भयो। नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपीएफ क्लबले जित हात पा¥यो। एपीएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो। यसका साथै एपीएफको ३ अङ्क भएको छ। आजै भएको महिलाको खेलमा पुलिसक्लबले गण्डकी माथि जित हात पा¥यो। पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो। यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अङ्क जोड्यो। यस प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन्। त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही  १५÷१५ हजार प्राप्त गर्ने छन्।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाण्डौ, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरी ७ क्लबहरू र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरूको सहभागिता रहेको छ।भोलिको पहिलो प्रतियोगिता बिहान ८ः०० बजे सुरु हुने छ।
 

कमेन्ट लोड गर्नुस