सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुलाक कार्यालय बझाङका तत्कालिन प्रमुख र नासु भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८० असार २३, ०२:५७ खबर संवाददाता

धनगढीः जिल्ला हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख र नायव सुब्बालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतको इजलासले मुद्दा दर्ता भएको तीन वर्षपछि कसुर कायम हुने फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन १२ गते हुलाक कार्यालय बझाङका प्रमुख रनबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्यायलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

विशेषले दुवै पक्षका कानुन व्यवसायीलाई सजाय निर्धारणपूर्वको प्रतिवेदन असार २७ गतेभित्र पेस गर्न भनिएको छ भने असार २८ गते सजाय निर्धारण हुनेछ। कडायतले एक करोड ७६ लाख चार हजार रुपैयाँभन्दा बढी सरकारी रकम व्यक्तिगत काममा प्रयोग गरेको इजलासको ठहर छ। उनले सो रकम फिर्ता गर्ने भनेर कबुल गरेको स्वीकार गरेका थिए। त्यस्तै नासु उपाध्यायले एक करोड ५५ लाख बढी रकम हिनामिना गरेको उल्लेख छ।

दुवैजनालाई तीन वर्षभन्दा बढी कैद सजाय हुने भएकाले दुवै पक्षका कानुन व्यवसायीसँग सजाय निर्धारणका लागि प्रतिवेदन माग गरिएको छ। कार्यालय प्रमुख कडायत र नासु उपाध्याय मिलेर रजिस्टरमा जम्मा भएको देखाउने, तर सर्वसाधारणले जम्मा गर्न ल्याएको रकम निजी प्रयोगमा खर्च गर्ने गरेका थिए। दुबै जना मिलेर एक हजार सात सय एक जनाको बचत हिनामिना गरेका थिए। दुवैजना मिलेर चार करोड ९५ लाख अनियमितता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

बझाङमा आर्थिक वर्ष २०७०/७१ मा हुलाक बचत बैंकले सेवा सुरु गरेकोमा पहिलो वर्ष नै साढे तीन करोडको हाराहारीमा रकम जम्मा भएको थियो। जसमध्ये ७४ लाख बढी रकम सोही वर्ष नायब सुब्बा उपाध्यायले हिनामिना गरेका थिए। सेवा सुरु गरेको चार वर्षसम्म कडायत र उपाध्याय मिलेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। आर्थिक वर्ष २०७४/७५ सम्म दुवैजना मिलेर बचत रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका थिए र उल्टै बचत बैंक घाटामा गएको झुटा विवरण पेस गरेका थिए।

मुद्दा विचाराधीन रहे पनि गत वर्ष असोजमा भने सर्वसाधारणको हिनामिना भएको बचत रकम सरकारले फिर्ता पठाइसकेको छ। २०७६ माघ २४ गते अनुसन्धानका लागि अख्तियारले कडायत र उपाध्यायलाई नियन्त्रणमा लिएको थियो। मुद्दा दर्ता भएपछि विशेष अदालतको इजलासले दुवैजनालाई धरौटीमा रिहा गरेको थियो।

विशेषले कडायतसँग १५ लाख र उपाध्यायसँग १२ लाख धरौटी माग गर्ने आदेश गरेको थियो। सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व बोकेका कार्यालय प्रमुख कडायतले लापरबाही एवं बदनियतपूर्ण रूपमा सार्वजनिक कोषको दुरुपयोग गरेको, मासेको र निजी प्रयोगमा ल्याएको दाबी अभियोगपत्रमा छ।

कसरी भयो हिनामिना?
आर्थिक वर्ष २०७०/७१ बाट बझाङमा हुलाक बचत बैंकले सेवा सुरु गरेको थियो। आकर्षक ब्याज पाउने विज्ञापनसहित हुलाकले बचत गर्न अनुरोध गरेपछि स्थानीयहरू (खास गरी न्यून आयस्रोत भएका, महिला, बालबालिका र ज्येष्ठ नागरिक) यसतर्फ आकर्षित भएका थिए। फलस्वरूप पहिलो वर्ष नै ३ करोड ४९ लाख ७८ हजारभन्दा बढी रकम बचत भएको थियो।

आकर्षक ब्याज आउने लोभले बचत गरेका एक हजार ७०१ जनाको ५ करोड ७८ लाख ६४ हजार रकम जम्मा गरेका थिए। जब हुलाकमा बचतकर्ताको भीड लाग्न थाल्यो। उनीहरूको बचत रकममाथि कार्यालय प्रमुखसहितका कर्मचारी नै आँखा लगाउन थाले। तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले पहिलो वर्ष नै ७४ लाखभन्दा बढी रकम हिनामिना गरे।

हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने पैसा आफैले राखेर बाहिर ब्याजमा लगाउने, घर जग्गा खरिद गर्ने, कोही बचत फिर्ता माग्न आएमा वा ऋण माग्न आएमा पनि खल्तीबाटै दिएर बैंक चलाउने गरेका कडायत र उपाध्यायले चार वर्षसम्म (२०७०/७१ देखी २०७४/७५) जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको पाइएको थियो। जनताले जम्मा गरेको रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने निकायका कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले व्यापक अनियमितता भएको देखिन्छ।

कमेन्ट लोड गर्नुस