सुदूर नेपाललाई विश्वसँग जोड्दै

विशेषज्ञ चिकित्सकको रोजाइमा परेन टीकापुर, ‘माइक्रोबायलोजी’ सेवा विस्तार

२०८० असार २३, ११:२२ नारायण अवस्थी

धनगढीः कैलालीको टीकापुर अस्पताल ५१ शय्याको सरकारी दरबन्दी भएको अस्पताल हो। सो अस्पताल हाल ७१ शय्या क्षमतामा सञ्चालित छ। दैनिक चार सयदेखि ६ सय बिरामी आउने टीकापुर अस्पतालमा हाल ११ जना विशेषज्ञ चिकित्सक र ७ जना मेडिकल अधिकृत छन्। १८० जना जनशक्ति कार्यरत रहेको टीकापुर अस्पतालमा ९ जना विशेषज्ञ र ४ जना मेडिकल अधिकृतको दरबन्दी छ। तर, दुई जना बाहेक अन्य विशेषज्ञ चिकित्सकसहित मेडिकल अधिकृतको दरबन्दी रिक्त छ।

अस्पतालमा ५९ जनाको मात्रै दरबन्दी तोकिएको छ। सरकारी दरबन्दीमा स्थायी चिकित्सक भने अस्पतालमा आएका छैनन्। टीकापुर अस्पताल विशेषज्ञ चिकित्सकको रोजाइमा पर्न नसकेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले बताए। ‘टीकापुर अस्पताल विशेषज्ञ चिकित्सकको रोजाइमा पर्न सकेको छैन,’ उनले भने, ‘यहाँ कार्यरत दुई जना बाहेक अन्य चिकित्सक करार र छात्रवृत्ति सेवामा कार्यरत छन्। विशेष सुबिधा दिएर विशेषज्ञ चिकित्सक पठाए बिरामीलाई उपचार  सेवा प्रदान गर्न सहज हुने थियो।’

प्रदेश सरकार मातहत आएपछि टीकापुर अस्पतालमा बहुविशेषज्ञ सेवा सुरु भएको छ। अस्पतालमा हाडजोर्नी, फिजियोथेरापी, जनरल मेडिसिन, जनरल सर्जरी, बालरोग सेवा, प्रसूति सेवा, दाँत उपचार सेवा, फार्मेसी, खोप सेवा, प्रयोगशाला सेवा, पोषण सेवा, एचआइभी र क्षयरोगको उपचार सेवा विस्तार भएको छ। तर, अस्पतालमा भौतिक पूर्वाधारको अभाव रहेको डाक्टर राईले बताए।‘हामीले अस्पतालको सेवा विस्तार गरेका छौँ तर पूर्वाधारको अभाव छ’ उनले भने, ‘टीकापुर अस्पताल निकै पुरानो भवनमा सञ्चालित छ।

भवन अभावले थप सेवा विस्तार गर्न र उपचार सेवा प्रदान गर्न समस्या हुने गरेको छ।’ टीकापुर अस्पतालको स्तरोन्नति गरिए बिरामीलाई उपचार अभावमा अन्यत्र पठाउनुपर्ने बाध्यता कम हुने अस्पतालले जनाएको छ। अस्पतालमा स्थायी जनशक्ति आउने वातावारण निर्माण गर्न अतिरिक्त सेवा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। टीकापुर अस्पतालको क्षमता विकास गर्न टीकापुर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त भएको छ।

अस्पतालमा सबै किसिमका सामान्य सर्जरी सेवा, पोष्टमार्टम सेवा, अत्याधुनिक प्रयोगशाला सेवासहित माइक्रोबायलोजी सेवा विस्तार भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए। ‘प्रदेश सरकार मातहत टीकापुर अस्पताल आएपछि उपचार सेवा थपिएका छन्।

संघ, प्रदेश नगरपालिका र अन्य संघ संस्थाको सहयोगले उपकरण र जनशक्ति व्यवस्थापनको काम भएको छ’ उनले भने, ‘भौतिक पूर्वाधार तथा थप सेवा विस्तार गर्न सके यहाँ जनताले उपचार गर्न बाहिर जाने बाध्यता हट्थ्यो।’ टीकापुर अस्पतालमा उपचार गर्न कैलालीको टीकापुर, भजनी, जानकी, जोशीपुर लम्किचुहा बर्दगोरिया र बर्दिया जिल्लाबाट पनि बिरामी आउने गरेका छन्। तर, भौतिक पूर्वाधार र स्थायी जनशक्ति नहुँदा अस्पतालले माग अनुसारको सेवा दिन नसकेको स्थानीयको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस