सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बासुदेवी स्कुलको जग्गा व्यक्तिको नाममा कब्जा, दर्जन बढी संलग्न

२०८० असार २३, १०:४५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका–६ को जालीस्थित रघुनगरमा रहेको बासुदेवी माध्यमिक विद्यालयको जग्गा व्यक्तिहरूले कब्जा गरेका छन्। बिगत सात वर्षदेखि विद्यालयको जग्गा व्यक्तिले कब्जा गरेका हुन्। रघुनगर विद्यालयको पूर्वतर्फ करिब १२ कट्ठा र पश्चिमतर्फ करिब ७ कट्ठा जग्गा विभिन्न व्यक्तिले कब्जा गरेका छन्।

यस्तै, कैलाली क्याम्पस नजिकको जग्गामा पनि अतिक्रमण भएको छ। त्यहाँ एक दर्जन घर टहरा बनाएर बसोबास गरिएको छ। जाली– कैलाली क्याम्पस सडक किनारको मूल्यवान जग्गा विभिन्न व्यक्तिले कब्जा गरेको विद्यालयका प्रधानाध्यापक पदमराज शर्माले बताए। ‘हाम्रो विद्यालयसँग ५९ बिघाभन्दा बढी जग्गा छ। तर, विद्यालयको जग्गा केही ठाउँमा अतिक्रमण गरिएको छ’ उनले भने, ‘विद्यालयको प्रतिजग्गा अतिक्रमण गरिएको छ।’

बासुदेवी माध्यमिक विद्यालय २०२१ सालमा स्थापना भएको हो। यो विद्यालय स्थापना गर्न धनगढीका डिल्लीराज भण्डारी र केही जालीकै स्थानीय चौधरी परिवारले जग्गा उपलब्ध गराएका थिए। विद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हुँदा सरोकारवाला पक्षले अतिक्रमण हटाउन प्रयाससम्म नगरेको पाइएको छ। विद्यालयको जग्गा ठेक्कामा लिनेहरुले अधिया कमाउन दिने र अधिया कमाउनेहरूले नै जग्गा अतिक्रमण गर्ने गरेको प्रधानाध्यापक शर्माले बताए।

‘स्कुलको पूर्वतर्फ भएको अतिक्रमण अधिया कमाउनेहरूले गरेका छन्। पश्चिमतर्फ ठेकेदारले ताल खन्दा बाँकी रहेको जग्गा स्थानीयले अतिक्रमण गरेर खेती लगाउने गरेका छन्। उनले भने, ‘जाली–कैलाली क्याम्पस सडकको जग्गामा दर्जन बढी व्यक्तिले घर बनाउने र खेतीपाती गर्ने गरेका छन्।’ वडा नम्बर–६ जालीमा विद्यालयसँग ३४ बिघा १४ कट्ठा जग्गा रहेको छ।

जसमध्ये विद्यालयदेखि उत्तर जङ्गल किनारमा एक बिघा पाँच कट्ठा, शिवनगरमा तीन बिघा १० कट्ठा, शिवनगरमै १६ कट्ठा, जाली–क्याम्पस रोड सडकमा पाँच बिघा १० कट्ठा र वडा नम्बर १७ डमौलियामा २४ बिघा १९ कट्ठा ७ धुर जग्गा रहेको छ। तर, विद्यालय भवनको पूर्वतर्फ करिब १२ कट्ठा प्रति जग्गामा स्थानीय तीन जनाले कब्जा गरेका छन्। यस्तै, पश्चिमतर्फ करिब ७ कट्ठा जग्गा पनि स्थानीयको कब्जामा छ। यसैगरी जाली–क्याम्पस रोड सडकमा रहेको विद्यालयको जग्गामा एघार घर निर्माण गरिएको छ।

एक दर्जन बढीले स्कुलको जग्गा कब्जा गरेर खेती गरिएको विद्यालयको दाबी छ। विद्यालय अगाडि स्कुलको जमिनमा धनगढी उपमहानगरपालिका र वडा नम्बर ६ ले अतिक्रमण गरेर बसेकाहरूका लागि सडक खन्ने र ग्राभेल हाल्ने काम गरेको छ। अघिल्लो कार्यकालमा वडा अध्यक्ष भागीराम चौधरीले नगरपालिकाको सहयोगमा जबरजस्ती सडक बनाएका हुन्। अहिले पनि स्कुलको जग्गा कब्जामा लिएकाहरूले भूमि आयोगमा फाराम भरेर बुझाएका छन्।

अहिलेसम्म धनगढी उपमहानगरपालिका, ६ नम्बर वडा कार्यालय र विद्यालय व्यवस्थापन समिति जग्गा अतिक्रमण रोक्न र फिर्ता ल्याउन असफल देखिएको छ। जग्गा कब्जा गर्नेहरूकै पक्षमा नगरपालिका, वडा र विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म काम गरेको स्थानीयले बताएका छन्। तर, यो पटक विद्यालयको जग्गा खाली गराएर संरक्षण गर्ने व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर घर्तीले बताए। ‘यो पटक विद्यालयको जग्गा फिर्ता ल्याउने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘नगरपालिका र स्थानीय प्रशासनको सहयोगमा जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने योजना छ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस