सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा बसपार्क सञ्चालन गर्न १ करोड बढीको ठेक्का

। फोटो स्रोत ।
२०८० असार २१, ०४:४६ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरिया बसपार्कमा पार्किङ शुल्क उठाउन ठेकेदार छनोट गरिएको छ।

नेपाली सेना मातहत रहेको जग्गामा निर्माण गरिएको बसपार्कलाई गोदावरी नगरपालिकाले आगामी आर्थीक वर्षका लागि ठेकेदार छनोट गरेको हो। बसपार्कमा पार्कीङ शुल्क उठाउनको लागि भैरवकाली निर्माण सेवालाई छनोट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताए। उक्त निर्माण सेवाले बसपार्क ठेक्का वाफत आर्थीक वर्ष २०८०÷०८१ मा नगरपालिकालाई १ करोड ३ लाख ५१ हजार एक सय ११ रुपैयाँ बुझाउने सहमति भएको छ।

यस्तै नगरपालिकाले कवाडी कर संकलनका लागि सोनु राज एण्ड ट्रेड सप्लायर्स धनगढीलाई स्विकृत गरेको छ। उक्त फर्मले आर्थीक बर्ष २०८०÷०८१ मा नगरपालिकालाई १ करोड १० लाख ५१ हजार बुझाउने छ। दुवै फर्मलाई नगरपालिकाले आगामी आर्थीक वर्षका लागि स्विकृत गरेको भएपनि सम्झौता गर्न भने बाँकी रहेको छ।

नगरपालिकाले बसपार्क र कवाडी कर संकलनका लागि जेठ १४ गते बोलपत्र आह्वान गरेको थियो। जसमा बसपार्कको पार्कीङ शुल्क संकलनका लागि न्यूनतम ६२ लाख राखिएको थियो भने कवाडी करका लागि न्यूनतम ४४ लाख रकम तोकिएको थियो। अत्तरिया बसपार्कबाट नगरपालिकाले आर्थीक बर्ष २०७६÷०७७ देखि ठेक्का मार्फत पार्किङ शुल्क उठाउँदै आएको छ।

अत्तरिया बसपार्कको भोगचलन नगरपालिकाले गरिरहेको भएपनि उक्त बसपार्क नेपाली सेनाको नाममा रहेको छ। अत्तरिया बसपार्कबाट नगरपालिकाले वर्षेनी पार्कीङ शुल्क बाफत रकम उठाइँदै आइएको भएपनि कालोपत्रे भने गर्न सकेको छैन। 
 

कमेन्ट लोड गर्नुस