सुदूर नेपाललाई विश्वसँग जोड्दै

डरलाग्दो गरी फैलिँदै लागूऔषधको जालो, खुला सीमानाले नियन्त्रणमा चुनौती

२०८० असार २१, १२:३४ खबर संवाददाता

धनगढीः  जिल्ला कारागार, कैलालीमा रहेका छोरा भेट्न गएकी धनगढी उपमहानगरपालिका–३, की ५० वर्षीया कमलादेवी अवस्थी गत १० असारमा लागूऔषधसहित पक्राउ परिन्। उनले छोरा ओमप्रकाशलाई लगेको सामान सुरक्षाकर्मीले चेकजाँच गर्दा बिस्कुटभित्र लुकाएको पाँच ग्राम लागूऔषध फेला  पर्‍यो। ओमप्रकाश लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका छन्। प्रहरीका अनुसार उनकी श्रीमतीसमेत लागूऔषध मुद्दा जिल्ला प्रहरीको हिरासतमा छन्।

लागूऔषधको प्रयोग र कारोबार डरलाग्दो गरी फैलिरहेको यो एउटा पछिल्लो उदाहरण हो। प्रहरीले सक्रियता बढाएपछि केही समययता कैलाली, कञ्चनपुरमा दैनिकजसो लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन्। विगत चार वर्षयताको लागूऔषधका मुद्दा र व्यक्ति पक्राउको संख्या हेर्दा सुदूरपश्चिममा लागूऔषधको जालो तीव्ररुपमा फैलिदै गएको देखिएको छ। 

प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा यहाँका नौ जिल्लामा लागूऔषधसम्बन्धी एक सय ७१ वटा मुद्दा अदालतमा दर्ता गरेको थियो। जबकी चालु आर्थिक वर्षको मध्यअसारसम्म चार सय ९३ मुद्दा दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार बीचका दुई आर्थिक वर्षमा क्रमशः दुई सय ५३ र तीन सय ५३ मुद्दा दर्ता भएका देखिन्छ।

लागूऔषधको जालो तीव्ररुपमा फैलिएसँगै मान्छे पक्राउ पर्ने क्रम पनि बर्षेनि बढेको छ। आर्थिक वर्ष २०७६/०७७ मा लागूऔषधसम्बन्धी मुद्दामा प्रदेशभरि १३ महिलासहित दुई सय ७० जना पक्राउ परेकामा चालु आर्थिक वर्षको ११ महिनामा छ सय ७० जना पक्राउ परेका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए। त्यसमध्ये ५३ जना महिला रहेका उनले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रयोगकर्ताको संख्या बढी छ। पछिल्लो समय लागूऔषधमा फस्ने महिलाको संख्या पनि बढ्दै गएको पाइएको प्रहरी उपरीक्षक चौधरीले बताए। 

प्रदेशभरि हाल प्रहरीको हिरासतमा रहेका दुई सय ६७ जनामध्ये ५० प्रतिशतभन्दा अर्थात् एक सय ३७ जना लागूऔषधको मुद्दाका रहेका उनले जानकारी दिए । यहाँका नौवटै जिल्ला कारागारमा एक हजार ५९० कैदीबन्दी रहेकोमा तीन सय ७७ जना लागूऔषध मुद्दाका रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

लागूऔषधको जालो फैलिँदै जाँदा समाजमा आपराधिक घटना पनि बढीरहेका छन्। ‘लागूऔषधको जालो डरलाग्दो गरी फैलिरहेको छ। यसले शान्ति, समृद्धि र विकासलाई असर गरेको छ।’ प्रहरी उपरीक्षक चौधरीले भने, ‘धेरैजसो आपराधिक घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता पाइने गरेको छ।’ यद्यपि लागूऔषध नियन्त्रणको अभियानसहित प्रहरीले सक्रियता बढाएपछि प्रयोगकर्ता र कारोबारी धमाधम पक्राउ पर्दा संख्या बढी देखिएको उनले बताए।

अनुसन्धानबाट चोरीका ९० प्रतिशतभन्दा बढी घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न देखिन गरेको प्रहरीको दावी छ। लेन ओभरटेक गरेर हुने सवारी दुर्घटना तथा बलात्कार, हत्याजस्ता जघन्य अपराधमा पनि लागूऔषध प्रयोगकर्ताको संलग्नता बढी रहने गरेको चौधरीले बताए। प्रहरीको तथ्यांकअनुसार लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये १६ देखि २० वर्ष उमेर समूहका युवायुवतीको संख्या बढी छ।

खुला सीमानाले नियन्त्रणमा चुनौती
लागूऔषधसम्बन्धी अधिकांश मुद्दा कैलाली र कञ्चनपुरका छन्। खुला सीमानाका कारण भारतको सीमावर्ती क्षेत्रबाट लागूऔषध ल्याउने गरिएको बताइन्छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खुला सीमाना लागूऔषध नियन्त्रणका लागि चुनौतीपूर्ण रहेको बताए। सीमावर्ती क्षेत्रमा लागूऔषधको अवस्था भयावह रहेको उनले बताए।

‘लागूऔषधको अवस्था भयावह छ । हामीले सीमा क्षेत्रमा निगरानी बढाएका छौँ तर पनि बढेको बढ्दै छ। नियन्त्रण गर्न सकेका छैनौँ। प्रहरीले नभेटेको संख्या झन कति छ कति।’ अधिकारीले भने, ‘सुरक्षा निकायको प्रयासले मात्र लागूऔषध नियन्त्रण गर्न सकिदैन। सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।’ कञ्चनपुरमा भारतसँग जोडिएको एक सय २५ किलोमिटर खुला सीमानाले चुनौती बढाएको उनले बताए।

प्रहरीका अनुसार चरेशबाहेक सबै लागूऔषध कारोबारी र प्रयोगकर्ताले सीमावर्ती भारतीय क्षेत्रबाट ल्याउने गरेका छन्। कैलालीमा भारतसँग एक सय तीन किलोमिटर खुला सीमाना छ । सीमा क्षेत्रमा रहेका सुरक्षा पोष्टहरुमा जनशक्ति कम रहेकाले पनि लागूऔषध नियन्त्रण गर्न गाह«ो हुने गरेको सुरक्षा अधिकारी बताउँछन्। सुरक्षा अधिकारीका अनुसार कैलाली, कञ्चनपुरमा सीमाको एउटा सुरक्षा पोष्टले १०–१२ किलोमिटर क्षेत्रसम्म हेर्नुपर्ने भएकाले निगरानी गर्न गाह«ो हुने गरेको हो।

सुरक्षा निकायको एकल प्रयासले मात्र लागू औषध नियन्त्रण संभव नभएकाले अभिभावक, समाज, सामाजिक संघसंस्था सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने प्रहरी उपरीक्षक चौधरीले बताए। आफ्ना छोराछोरीबारे अभिभावकले चाँसो दिनुपर्ने उनले बताए । ‘१६ देखि २० वर्षको उमेरका युवायुवती लागूऔषधमा बढी फसेको देखिन्छ । यो उमेरमा अभिभावकले बढी ध्यान दिनुपर्छ।’ उनले भने।

प्रहरीका अनुसार लागूऔषधमा फस्नुमा पारिवारिक विखण्डन, बेरोजगारी, पढाइ तथा प्रेममा असफलता, साथीसंगतको दवाव र प्रभाव, घरासयी झगडाजस्ता कारणहरु देखिन्छन् । विभिन्न अध्ययनहरुले लागूऔषधमा बेरोजगार युवाहरु बढी संलग्न हुने देखिएकाले सरकारले युवा केन्द्रीत बजेट ल्याउनु पर्ने लागूऔषधविरुद्धको अभियानमा सक्रिय चेतराज भट्टराइले बताए। यसविरुद्ध सचेतनामुलक अभियान सञ्चालन आवश्यक रहेको उनले बताए ।
 

कमेन्ट लोड गर्नुस