सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको खाद्य कार्यालयमा चामल सकियो, बिक्री कक्ष बन्द

२०८० असार २१, ११:०२ खबर संवाददाता

दार्चुलाः दार्चुलाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएको छ। चामल सकिएपछि खलंगास्थित शाखा कार्यालय बन्द गरिएको छ। कार्यालयको गोदाममा चामल मौज्दात छैन भने बिक्री कक्षमा बुधवार दिउँसोपछि चामल सकिएको छ।

बिक्री कक्ष बन्द गरेर कर्मचारी कागजात मिलाउने काममा लागेको कार्यालयले जनाएको छ। एक वर्ष अगाडिबाट पुनः सञ्चालनमा आएको शाखा कार्यालयले दैनिक एक सय बोरा चामल बिक्री गर्दै आए पनि मौज्दात शून्य भएपछि कार्यालय बन्द गर्नुपरेको शाखाका निमित्त प्रमुख रामसागर मेहताले बताए।

सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीलाई वैशाखदेखि नै मौज्दात सकिन लागेको र समयमै खाद्यान्न ढुवानीका लागि ताकेता गर्दै आएको उनको भनाइ छ। चालु आर्थिक वर्षलाई प्रादेशिक कार्यालयले दार्चुलाका लागि खाद्यान्न ढुवानीको ठेक्का लगाइसकेको अवस्थामा पनि शाखा कार्यालयसम्म आवश्यक खाद्यान्न ढुवानी हुन पाएको छैन।

धनगढीबाट अन्य जिल्लामा चामल ढुवानी भइरहेको छ। खाद्य कार्यालयमा चामल मौज्दात नभएपछि बर्खाका दुई महिना चामल अभाव हुने देखिएको छ। यो महिनाको अन्तिमसम्म मात्र चामल ढुवानी हुन सके केही दिनलाई यहाँको समस्या टार्न सकिन्छ।

नयाँ आर्थिक वर्षलाई चामल ढुवानीको ठेक्का प्रक्रियामै दुई महिना लाग्ने हुँदा साउन र भदौमा चामल ढुवानी हुने सम्भावना न्यून छ। प्रादेशिक कार्यालय धनगढीको गोदाममा पनि चामल मौज्दात नरहेकाले दार्चुला शाखा कार्यालयलाई यो वर्षका लागि चामल ढुवानी गर्न नसकिने प्रादेशिक कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन्।
 

कमेन्ट लोड गर्नुस