‘भारतले एक महिना मात्र चामल रोके सुदूरपश्चिममा हाहाकार हुन्छ’
धनगढीः सुदूरपश्चिम प्रदेशमा तीन लाख ६९ हजार ७९६ हेक्टर खेतीयोग्य जमिन छ। प्रदेशभित्र एक लाख ७५ हजार ७६३ हेक्टरमा यो वर्ष धान खेती हुने अनुमान छ। सुदूरपश्चिममा औसतमा तीन दशमलव ७ मेट्रिकटन धान प्रतिहेक्टरमा उत्पादन हुन्छ। प्रदेशका नौवटै जिल्लामा गरी तीन लाख ५० हजार तीन सय २३ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ।
तर प्रत्येक वर्ष धानको उत्पादनमा गिरावट आउने गरेको अधिकारीहरुले बताएका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ विजौराका किसान सत्यराज रावलले अन्न जीवन भएको बताए। कृषि पेशा तिर सबै लाग्नुपर्ने उनले बताए। उनले भने, ‘हाम्रो उत्पादनले बजार पाँउदैन्। भारतीय उत्पादनले हामीलाई समस्यामा पार्ने गरेको छ।’
भारतबाट वार्षिक एक अर्ब ५० करोड बढीको धान तथा चालम आयात हुँदै आएको छ। प्रदेशभित्र धानको उत्पादनमा कमी आउन थालेपछि भारतबाट आयातको दर वर्षेनि वृद्धि हुँदै गएको हो। प्राङ्गारीक मलको प्रयोगमा कमी, रासायनिक मलको प्रयोग तथा सिँचाइ अभावका कारण धानको उत्पादन वर्षेनि घट्दै गएको छ। जिल्ला समन्वय समिति कैलालीका निमित्त प्रमुख खगराज भुषालले धानको उत्पादन आधाले घटेको बताए। उनले भने, ‘पहिला भन्दा उत्पादन घटेको छ। पहिलो एक बिघामा धान लगाउँदा ५० क्वीन्टल फल्ने गरेको थियो। अहिले २५ क्वीन्टल मात्र हुने गरेको छ। हामीले ध्यान दिन आवश्यक छ।’
सुदूरपश्चिममा यो वर्ष एक लाख ७५ हजार ७६३ हेक्टरमा धान खेती गरिने भएको हो। यो वर्ष सुदूरपश्चिममा मौसम र वर्षा अनुकुल भए ६ लाख ५० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान छ। कृषि निर्देशनालय दीपायलका निमिक्त निर्देशक यज्ञराज जोशीले प्रदेशमा उत्पादन भएको धानले मात्र खान नपुग्ने बताए। उनले भने, ‘भारतबाट खाद्य आउनुपर्ने थिएन। तर आउँदैछ। एक अर्ब ५० करोडको खाद्यान्न भारतबाट आउछ। प्रदेश सरकारको तथ्याँकसमेत अध्यावधिक गर्नुपर्छ।’ जोशीले भारतले एक महिना मात्र धान तथा चामल रोके सुदूरपश्चिममा हाहाकार हुने बताएका छन्।
सुदूरपश्चिममा आर्थिक वर्ष २०७५/७६ मा एक लाख ८१ हजार ३९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। सो वर्ष ५ लाख ८६ हजार ३५३ मेट्रिकटन धान उत्पादन भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा एक लाख ८१ हजार ३३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यो वर्ष ६ लाख ३२ हजार ७८० मेट्रिक टन धान उत्पादन भएको थियो। यस्तै, आर्थिक वर्ष २०७७/७८ मा भने एक लाख ८५ हजार ८६८ हेक्टरमा धान खेती हुँदा ६ लाख ८४ हजार १५ मेट्रिकटन धान उत्पादन भएको तथ्यांकले देखाएको छ।
सुदूरपश्चिम प्रदेशभित्र धानको उत्पादन वर्षेनि घट्दै गएको छ। कृषि पेशाबाट किसानको पलायन बढेसँगै वर्षेनि उत्पादनमा गिरावट आउने गरेको अधिकारीहरुले बताएका छन्। साथै किसानले प्राङ्गारीक मलको प्रयोग नगर्ने, रासायनिक मलको बढी प्रयोग गर्ने तथा सिँचाइको अभाव लगायत कारण पनि धानको उत्पादनमा कमी आउन थालेको हो।
प्रदेशभित्र एक लाख ७५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। तीन दशमलव ७ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने प्रदेश सरकारको अनुमान छ। भारतबाट आयात हुने चामल तीन महिनाका लागि मात्र रोकिने हो भने सुदूरपश्चिममा भोकमरी हुने चिन्ता गरिएको छ।