सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध, धनगढी–खलंगा रात्रिबस रोकिए

२०८० असार १९, १२:०३ खबर संवाददाता

धनगढीः वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ। खलंगाबाट महेन्द्रनगर–काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन्।

पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्। महेन्द्रनगर, धनगढीबाट खलंगाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्।

पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले बताए। सोमबार रातिको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको हो।

रातिको वर्षाले सडक माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैबाट उक्त सडक खण्डको पनेबाजदेखि ऐरिछानासम्मको सडक अवरुद्ध भएको हो। माथिको पहिरोमा हिलोसहित ढुंगा खसेपछि सडक अवरुद्ध हुँदा यातायात साधनहरु सञ्चालनमा अवरोध सृजना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिराको कारण मंगलबार जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन्।

कमेन्ट लोड गर्नुस