सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ‘महिला प्रधानाध्यापक’ले चलाएका अब्बल विद्यालयहरू

२०८० असार १९, १०:२४ खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुर लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयको प्रधानाध्यापकका रूपमा रामवती राना थारूले जिम्मेवारी सम्हालेकी छन्। विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारू समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला  हुन्। 

‘बाल विकास शिक्षकमा नियुक्त भई ०७२ सालदेखि प्रधानाध्यापकका रूपमा काम गरिरहेकी छु,’ उनले भनिन्, ‘विद्यार्थी, प्रशासन र अभिभावकबीच सहकार्य गर्न सहज र चुनौतीपूर्ण दुवै छ।’ उनले नेतृत्व गरिरहेको विद्यालयमा हाल १८८ विद्यार्थी तथा १२ शिक्षक र कर्मचारी छन्।

‘विद्यालयको आयस्रोत कम हुँदा जेनतेन निजी स्रोतका शिक्षकलाई तलब सुविधा पु¥याउन सकिएको छ,’ उनले भनिन्, ‘तीन शिक्षकका लागि स्थायी दरबन्दी भए पनि बाँकीलाई निजी स्रोतबाट टिकाउन गाह्रो छ।’ भौगोलिक रूपमा जिल्लाकै विकट क्षेत्रमा पर्ने लालझाडीमा राना थारू समुदायको बाहुल्य छ। त्यसैले विद्यालयमा पनि राना थारू समुदायकै बालबालिकाको संख्या बढी छ।

रानाले भनिन्, ‘महिलाले अधिकार मागेर होइन, मिहिनेतले उच्च तहमा पुग्ने वातावरण हरेक कोणबाट बन्दै गएको छ।’ थारूजस्तै जिम्मेवारीमा छिन्, सुरिता चौधरी। शुक्लाफाँटा नगरपालिका–३ जोनपुरस्थित जनज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापक चौधरीले १० वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेकी छन्।

चौधरीका श्रीमान् विक्रम चौधरी पनि सोही विद्यालयमा शिक्षक छन्। ‘शिक्षक हुँदा सम्बन्धित विषय पढाउने र विद्यार्थीको भविष्यप्रति बढी केन्द्रित भइन्थ्यो भने प्रधानाध्यापकका रूपमा विद्यालयको सबै जिम्मेवारी लिएकी छु,’ उनले भनिन्। विगत २२ वर्षदेखि शिक्षण पेशामा रहेकी चौधरी शुरुमा निजी शिक्षक, अस्थायी हुँदै ०७५ सालमा स्थायी भएकी हुन्।

‘हामी दुवैजना शिक्षण पेशामा दुई दशकभन्दा बढी समय संलग्न भएकाले समाजमा पनि राम्रो प्रतिष्ठा कमाएका छौं,’ उनले भनिन्, ‘बढ्दो आधुनिकीकरण र प्रविधिको उच्च विकास भइरहेको समयमा ग्रामीण क्षेत्रमा विद्यालय सम्हाल्नु चुनौतीपूर्ण छ।’ ग्रामीणस्तरमा प्राथमिक तहदेखि नै समयसापेक्ष शिक्षा दिने विषयमा स्थानीय तहदेखि केन्द्र सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

२५९ वटा सामुदायिक विद्यालय रहेको कञ्चनपुरमा हाल २० विद्यालयमा महिला प्रधानाध्यापक रहेको शिक्षा तथा समन्वय एकाइ, विद्यालय प्रशासनका शाखा अधिकृत रूपराम तिरुवाले जानकारी दिए। यहाँको शुक्लाफाँटा  नगरपालिकाको झलारीमा ०२२ सालमा स्थापना भएको श्रीकृष्ण माविको नेतृत्व पनि महिला प्रधानाध्यापकको काँधमा छ।

विद्यालयमा चार वर्षयता लक्ष्मी थापा ऐर प्रधानाध्यापक छिन्। ‘शिक्षकका रूपमा एक प्रकारको सन्तुष्टि थियो भने अहिले प्रधानाध्यापकका रूपमा विद्यालयको नीति निर्माणदेखिका सबै काम गर्दा थप जिम्मेवारी महशुस भएको छ,’ उनले भनिन्। निजी र सामुदायिक विद्यालयमा गरी १७ वर्ष अध्यापन गराएकी उनी १२ वर्षदेखि सामुदायिक विद्यालयमा पढाइरहेकी छन्।

‘करिब दुई दशकको अनुभवले प्रधानाध्यापकका रूपमा काम गर्न सहज भएको छ,’ उनले भनिन्, ‘अहिले विद्यालयको भौतिक संरचना निर्माण, अभिभावकसँग समन्वय, अतिरिक्त क्रियाकलाप, अध्यापन र विद्यालयको विकासमा सक्रिय हुन पनि सजिलो भएको छ।’

महेन्द्रनगरमा सञ्चालित जानकी कन्या माविमा पनि ९ वर्षदेखि अञ्जुला भट्ट प्रधानाध्यापक छिन्। करिब २०० विद्यार्थी रहेको विद्यालयमा २० जना शिक्षक छन्। ‘०६३ सालदेखि स्थायी भई दैजीको शारदा माविबाट अध्यापन शुरु गरेकी हुँ,’ भट्टले भनिन्, ‘यतिबेला जानकी कन्या मावि सञ्चालन गर्ने अवसर प्राप्त भएको छ।’ रासस
 

कमेन्ट लोड गर्नुस