धनगढीका तीन स्थानबाट भन्सार छलीका सामान जफत, संलग्नहरु भागे
धनगढीः कैलालीको धनगढीमा छुट्टाछुट्टै तीन स्थानबाट भन्सार छलीका सामान प्रहरीले जफत गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७९ हजार ३३५ मुल्य बराबरका प्लाष्टिक झिल्ली, खुर्सानी, सरप, सावुन, सुटलगायतका सामान प्रहरीले आइतबार साँझ जफत गरेको हो।
भन्सार छलीका सामान बेवारिसे अवस्थामा छोडेर संलग्नहरु भने भागेका हुन्। त्यस्तै धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट पनि करिब चार हजार ६ सय मुल्य बराबरका भन्सार छलीका सामान प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। भन्सार छलीको चिनी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरचोकबाट पनि भन्सार छलीका सिलिङ पंखा, टेबल पंखा, पंखा बक्स र एक थान अटो गरी करिब तीन लाख मुल्य बराबरका सामान प्रहरीले जफत गरेको छ। प्रहरीले सामान, अटो र चालकसहित दुई जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो। त्यस्तै भजनी नगरपालिाक–३ कर्मदेवघाटबाट भन्सार छलीका गुट्खा र एक थान मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ।
करिब एक लाख १३ हजार मुल्य बराबरका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। आइतबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिएको हो। उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिनताराबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ।
तरकारी, मसला, माछा लगायत गरी करिब ४६ हजार ७५० मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भन्सार छलीका सामानमा संलग्नहरु आफ्नो सामान बेवारिसे अवस्थामा छोडेर भागेका हुन्। पछिल्लो समय सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयहरुले भन्सार छलीका सामान र संलग्नहरुलाई यसैगरी नियन्त्रणमा लिने कामलाई निरन्तरता दिएका छन्।