शिवनाथ गाउँपालिकाद्वारा श्रम स्वीकृति दिन सुरु
धनगढीः बैतडीको एक गाउँपालिकाले पालिकाबाटै श्रम स्वीकृति दिन सुरु गरेको छ।
जिल्लाको शिवनाथ गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई पालिकाबाटै श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ। यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि शिवनाथ गाउँपालिकाले श्रम स्वीकृती दिन थालेको हो।
सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा शिवनाथ गाउँपालिकाले आज पहिलो पटक मलेसिया जान इच्छुक शिवनाथ गाउँपालिका ४ का सुरेन्द्रसिंह महतालाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनलाई पालिकाको रोजगार सेवाकेन्द्रमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो।
आफ्नै पालिकामा बिना झण्झट कम खर्चमा घरदैलोमै श्रम स्वीकृति पाउनेभएपछि त्यहाँका स्थानीय खुसी भएका छन्।