सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ६० प्रतिशत रोपाइँ सम्पन्न

२०८० असार १५, ०७:४६ खबर संवाददाता

बैतडी: बैतडीमा आधाभन्दा बढी रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ हुन थालिएको चौधरीले बताए। सिँचाइ सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ। 

उनले भने, ‘जिल्लाका सबै स्थानीय तहबाट संकलन गरिएको तथ्यांकअनुसार ६० प्रतिशत रोपाइँ भएको छ। वर्षा हुने क्रम जारी छ। अब रोपाइँ बढ्दै जान्छ।’ जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। लामो समयपछि वर्षा शुरु भएसँगै बैतडीका किसान खुसी भएका र धमाधम रोपाइँ गर्न थालेका छन्।

वर्षा भएसँगै रोपाइँ गर्न चटारो परेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान मानसिंह विष्टले बताए। सिँचाइ सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ। उनले भने, ‘वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो छ। सबै रोपाइँमा व्यस्त छौं।’

यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमास लगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको किसानले बताएका छन्। पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका,सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीका पकेट क्षेत्र हुन्। बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।

कमेन्ट लोड गर्नुस