सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीमा संलग्न ९० जना पक्राउ, साढे तीन करोडका सामान जफत

कैलाली–कञ्चनपुरका सीमा क्षेत्रमा प्रहरी निगरानी उच्च

२०८० असार १५, ०६:५१ नारायण अवस्थी

धनगढीः भातरबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले निगरानी बढाएको छ। कुनै पनि भन्सार छलीका सामान कुनै पनि स्थानबाट भित्र्याउन नदिन सुदूरपश्चिम प्रहरी एक्सनमा उत्रिएको हो। भारतसँग सीमा जोडिका कैलाली र कञ्चनपुरका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।

सुदूरपश्चिममा प्रहरीले यो वर्ष साढे तीन करोड बढीको भन्सार छलीको सामान जफत गरेको छ। चालु आर्थिक वर्षको साढे एघार महिनाको अवधिमा कैलाली र कञ्चनपुरबाट तस्करीमा संलग्न ९० जना पक्राउ परेका छन्। राजश्व चुहावट रोक्न प्रहरी संगठनको नीति अनुसार कैलाली र कञ्चनपुरमा नेपाल प्रहरीले निगरानी बढाउँदा सो परिमाणमा भन्सार छलीका सामान बरामद भएको हो।

नेपाल प्रहरीले हरेक दिन दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा र हार्डवेयरका सामानसहित भन्सार छलीमा संलग्नहरुलाई धमाधम पक्रन थालेको हो। दिनहुँ डेढ लाखदेखि चार÷पाँच लाखसम्मको सामान बरामद हुने गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए।
सुदूरपश्चिम प्रदेश प्रहरीले चालु आर्थिक वर्षको साढे एघार महिनामा ३ करोड ६६ लाख ५६ हजार ६६१ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

प्रहरीले विशेष गरी कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रबाट तस्करीको सामान बरामद गर्दै आएको प्रहरी उपरीक्षक चौधरीले बताए। ‘कैलाली र कञ्चनपुरको १३२ दशमलव ५ किलोमिटर खुला सीमाना भारतसँग जोडिएको छ। यो क्षेत्रमा दैनिक तस्करीको सामान बरामद हुने गरेको छ’ उनले भने, ‘दैनिक डेढ लाखदेखि चार÷पाँच लाखको सामान बरामद भइरहेको छ।’ प्रहरीले तस्करीको सामानसँगै तस्करीमा संलग्नहरुलाई समेत पक्राउ गर्न थालेको छ।

साउन १ गतेदेखि असार १५ सम्म भन्सार छलीमा संलग्न ९० जनालाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ। खुला सीमानाकाको फाइदा उठाउँदै सुदूरपश्चिममा तस्करी हुने गरेको प्रहरीले जनाएको छ। राजश्व चुहावट रोक्न प्रहरीको केन्द्रीय नीतिअनुसार कैलाली र कञ्चनपुरमा राजश्व छली र चोरी निकासी र पैठारी रोक्न निगरानी बढाइएको छ। नेपाल प्रहरीका सीमा क्षेत्रमा रहेका प्रहरी युनिटलाई तस्करी रोक्न विशेष रुपले परिचालन गरिएको प्रहरी उपरीक्षक चौधरीले बताए।

‘नेपाल प्रहरीको केन्द्रीय नीतिअनुसार तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग समेत हातेमालो गरेर निगरानी बढाएका छौँ’ उनले भने, ‘तस्करी रोक्न सीमा क्षेत्रका प्रहारी परिचालन भएका छन् भने विषेश टोली पनि परिचालन गरिएको छ।’ सीमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटलाई उच्च सतर्कता साथ परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयको दाबी छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस