सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खाद्य व्यापार कम्पनीले १५ हजार क्वीन्टल चामल खरिद गर्दै

२०८० असार १५, १०:१०

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी क्षेत्रमा खाद्यन्नको अभाव देखिन थालेको छ। पहाडी पाँच जिल्लाका खाद्य डिपोहरुमा खाद्यन्नको अभाव सुरु भएको हो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले भने छिटपुटबाहेक पहाडी जिल्लामा खाद्यन्नको अभाव नभएको दाबी गरेको छ।

खाद्यन्न अभाव भएका क्षेत्रमा चामलको आपुर्ति गर्न १५ हजार क्वीन्टल खरिद गर्न बोलपत्र आह्वान भएर एक महिनाभित्रै ढुवानी गर्ने काम सुरु हुने प्रादेशिक कार्यालयले जनाएको छ। पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी र दार्चुलाका खाद्य डिपोहरुमा खाद्यन्नको मौज्दात पर्याप्त नहँुदा विपन्न परिवार समस्यामा पर्न थालेका छन्।

तर धनगढीमा अहिले पनि खाद्यन्नको मौज्दात रहेकाले खाद्यन्नको खासै अभाव नदेखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी निमिक्त कार्यालय प्रमुख कल्पना विष्टले बताइन्। ‘छिटपुटबाहेक खाद्यन्नको अभाव छैन्। १५ हजार क्वीन्टल चाम खरिदका लागि बोलपत्र आह्वान भएर अबको एक महिनाभित्रै ढुवानी हुने गरी प्रक्रिया अघि बढी सकेको छ। धनगढीमा अहिले पनि करिब ४ हजार क्वीन्टल चामल मौज्दात भएकाले अहिले नै खाद्यन्नको अभाव भएको भन्न मिल्दैन।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गत शुक्रबारदेखि देशभर मनसुन फैलिएको छ। अब बाढी, पहिरोलगायत प्राकृतिक विपत्ति बढ्ने आंकलन छ। सडक अवरुद्ध हुने सम्भावना पनि छ। यही विपत्तिका बेला चाहिने खाद्यान्नको मौज्दात भने सरकारसँग न्यून छ। सरकारले पहिचान गरेको दुर्गमका जिल्लामा खाद्यान्न ढुवानी र बिक्री गर्ने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको हो। पहाडी जिल्लाका धेरैजसो बिक्री केन्द्रमा चामल छैन। कम्पनीले भने खाद्यन्नको त्यति ठुलो अभाव नभएको दाबी गर्दै आएको छ।

धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेको सरकारले धान खरिदमा पनि झेल गरेको थियो। किसानको धान किन्न नचाहेको खाद्य कम्पनीले भण्डारण बढाउन व्यापारीसँग चामल किन्ने प्रक्रिया भने अघि बढाएको छ। धनगढीले १५ हजार क्वीन्टल चामल खरिदका लागि बोलपत्र आह्वान गरेर एक महिनाभित्रै ढुवानीको काम सुरु हुने बताएको छ।

किसानको धान किन्दा कमिसन नआउने तर व्यापारीसँग चामल किन्दा कमिसनको खेल हुने गरेको आरोप लाग्दै आएको छ। खाद्यको विवरणअनुसार बझाङ, बाजुरा, आछाम, बैतडी, दार्चुलालगायत धेरै जसो बिक्री केन्द्रमा चामल छैन। खाद्य कम्पनीको बिक्रीवितरण विभागका अनुसार दुर्गममा मौज्दातको व्यवस्था नै उपयुक्त छैन्।

यस वर्ष खाद्यन्नको कुनै अभाव नहुने दाबी कम्पनीको छ। बझाङको तलकोट, बिसौना, काँडा, बाजुराको कवाडी, अछामको कमलबजार, रामारोशन, बैतडीको पूर्चौडी हाट, कुलाउ, गोठालापानी, मेलौली, दार्चुलाको राप्ला, छाङरु, पारीबगर, सुनसेरा, गोकुलेश्वर लेकम, खण्डेश्वरी, घुसा, कुणी, नागु र सितोलामा खाद्यन्न मौज्दात पर्याप्त छैन्।

कमेन्ट लोड गर्नुस