सीमा क्षेत्रबाट हुने तस्करी रोक्न प्रहरी तात्यो, सशस्त्रको भूमिका निष्क्रिय

धनगढीः कैलाली र कञ्चनपुरका सीमा क्षेत्रबाट भन्सार छलीका सामान धमाधम बरामद भइरहेको छ। नेपाल प्रहरीले दैनिक रुपमा भन्सार छलीका सामान बरामद गर्न थालेपछि भन्सार राजस्वमा योगदान पुगेको अधिकारीहले बताएका छन्। मंगलबार मात्र कैलाली र कञ्चनपुरका झण्डै एक दर्जन क्षेत्रबाट भन्सार छलीका विभिन्न सामान प्रहरीले बरामद गरेको हो।
धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट करिब एक लाख मुल्य बराबरका गाडीका पाटपुर्जाहरु प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका–१८ थापाघाटबाट पनि करिब २५ हजार मुल्य बराबरका अबैध कुखुरा बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले अबैध कुखुरा नियन्त्रणमा लिएको हो। त्यस्तै भजनी नगरपालिका–८ कृष्णनगरबाट पनि भन्सार छलीका सामानसहित टीकापुर नगरपालिका–६ सुवर्णपुरका ३० वर्षीय हिक्मत चौधरीलाई पक्राउ गरिएको छ।
उनी एक लाख ३५ हजार मुल्य बराबरको चिनीसहित पक्राउ परेका हुन्। त्यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ वैवाह कान्छीबजारबाट ११ हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ भने धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट करिब १४ हजार मुल्य बराबरका चिनी, पास्ता, प्लाष्टिक पोलिथिन, ईमली, नरीवल, क्रिम, आन्टी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै कञ्चनपुरको कृष्णपुरबाट भन्सार छलीका कुखुरासहित एक जना पक्राउ परेका छन्। सोमबार राति कृष्णपुर नगरपालिका–६ बसन्त टोलबाट एक लाख दुई हजार मुल्य बराबरका अबैध कुखुरासहित बैलौरी नगरपालिका–५ का ३४ वर्षीय जोगराज चौधरी पक्राउ परेका हुन्। साथै भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट करिब २४ हजार मुल्य बराबरका ८० किलोग्राम माछा बरामद गरिएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रको सुरक्षा तथा भारतबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्ने जिम्मा सशस्त्र प्रहरी बलको पनि हो।
सोही अनुसार सीमा क्षेत्रको अधिकांश स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) हरु पनि स्थापना गरिएका छन्। कैलालीको एक सय एक किलोमिटर क्षेत्रफल भारतसँगको खुल्ला सीमासँग जोडिएको छ। उक्त क्षेत्रफलमा १८ वटा बिओपीहरु स्थापना गरिएका छन्। तर सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी भने कम हुन सकेको छैन। पछिल्लो समय अवैध नाका तथा विभिन्न घाटबाट हुने तस्करी बढ्दै गएको स्थानीय बताउँछन्।
घरायसीका सामानको नाममा सधै तस्करी हुने गरेको छ। यसमा सशस्त्र प्रहरीले चासो देखाएको छैन्। जिल्लामा धनगढीसहित विभिन्न स्थानबाट दैनिकजसो तस्करी हुँदै आएको छ। घरायसी प्रयोजनका सामान बरामद गर्दै आएको सशस्त्र प्रहरीले व्यवसायिक प्रयोजनाका लागि लाखौंको सामान तस्करी गर्दा आँखा चिम्लिने गरेको आरोप छ। भारतबाट हुने अवैध तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीको भूमिका निष्क्रिय हुँदै गएपछि तस्करले प्रसय पाएका हुन्। पछिल्लो समय सशस्त्र प्रहरीको नेतृत्व नै निश्चित व्यक्तिलाई खुसी पार्नमा मात्र केन्द्रीत भएपछि तस्करी बढ्दै गएको आरोप स्थानीयको छ।



