सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मीमा किन जान्छ पटकपटक बत्ती?

२०८० असार १३, ०८:४८ नारायण अवस्थी

धनगढीः गर्मी बढेसँगै दैनिक दर्जनौं पटक बत्ती जाने गरेको छ। बत्ती जाँदा 'प्राधिकरणले अघोषित लोडसेडिङ गरेको, इन्भर्टर व्यापारीसँग मिलेमतो गरेको, कर्मचारीहरू एसीको हावा खाँदै होलान्' भन्ने गुनासा र टिप्पणी सामाजिक सञ्जालमा आउने गरेका छन्।

बत्ती नहुँदा गर्मीमा व्यहोर्नुपर्ने सास्तीका कारण प्राधिकरणप्रति आक्रोश पोख्ने गरिन्छ। उपभोक्ताबाट शुल्क लिने निकायले सेवा प्रवाह चुस्त दुरुस्त बताउँनै पर्छ। नत्र सेवाग्राही अर्थात् उपभोक्ताले दुःख पाउने र नोक्सान व्यहोर्नु पर्ने हुन्छ। तसर्थ, बत्ती गायव हुँदा उपभोक्ताले आक्रोशित हुनु जायज हो। उपभोक्ताले स्तरीय सेवाको माग गर्न पाउँछन्। पाउनु पनि पर्छ।

किन दैनिक बत्ती जान्छ त? आउनुहोस् नेपाल विद्युत प्राधिकरणले बत्ती जाने कारण बारे भनेको तथ्यहरू सुनौँ। नेपाल विद्युत प्राधिकरणले सिस्टम कोल्याप्स हुँदा बत्ती जाने गरेको जनाएको छ।

लोड बढ्दा हुन्छ सिस्टम कोल्यापप्स
नेपाल विद्युत प्राधिकरणले उच्च गर्मीको कारण विद्युत खपत बढ्न गई दैनिक १३२ केभीको राष्ट्रिय प्रसारण लाइनमा ट्रिपिङ भइरहेको जनाएको छ। नेपालको हालको माग २ हजार मेगावाट पुगेको छ। नेपालमा कुल जलविद्युत उत्पादनको जडित क्षमता २ हजार ५ सय मेगावाटभन्दा बढी पुगेको छ। नेपालको मुख्य प्रसारण लाइन भने १३२ केभीको भोल्टेज लेभलमा सञ्चालित छ। यसरी कम भोल्टेज क्षमताको प्रसारण लाइनमा बढी भोल्टेज विद्युतको भार पर्दा ट्रिपिङ भएर सिस्टम कोल्याप्स हुने गरेको प्राधिकरणले जनाएको छ।

राष्ट्रिय प्रसारण लाइनकै क्षमता कम 
नेपालको राष्ट्रिय प्रसारण लाइनको क्षमता १३२ केभी मात्रै छ। जसका कारण मागभन्दा कम विद्युत भार बहन गर्ने क्षमताको प्रसारण लाइन छ। १३२ केभीको सिङ्गल सर्किट प्रसारण लाइनमा बढीमा एक सय मेगावाट र डबल सर्किट प्रसारण लाइनमा दुई सय मेगावाट बिजुली मात्रै प्रवाह गर्न सकिन्छ।
यस्तै, २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमा बढीमा ५ सय मेगावाट र डबल सर्किट प्रसारण लाइनमा एक हजार मेघावट बिजुली प्रवाह गर्न सकिन्छ। तर, हाम्रो प्रसारण लाइन १३२ केभी क्षमताको भएकाले गर्मीमा बिजुलीको माग बढ्ने बित्तिकै लाइन जाने समस्या आउने गरेको विद्युत प्राधिकरणले जनाएको छ।

४०० केभी सिङ्गल सर्किट प्रसारण लाइनमा बढीमा २ हजार मेगावाट र डबल सर्किट प्रसारण लाइनमा ४ हजार मेगावाट बिजुली प्रवाह गर्न सकिन्छ। तर, अहिले १३२ केभीको सिङ्गल प्रसारण लाइन मात्रै हुँदा लोड धान्न नसक्दा बिजुली जाने गरेको बताइएको छ।

बिजुली नजान दिन समाधान के?
१३२ केभी प्रसारण लाइनको क्षमता कम छ। १३२ केभी प्रसारण लाइनको विकल्पमा ४०० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनुपर्छ। यस्तै, देशभर चारदेखि पाँच ठाउँमा उत्तर-दक्षिण २२० केभीको प्रसारण लाइन निर्माण हुनुपर्छ। डबल सर्किट प्रसारण लाइन निर्माण भए, एउटा लाइनमा समस्या आउने बित्तिक्कै अर्को लाइनबाट बिजुली प्रवाह गर्न सकिन्छ। र, सिस्टम कोल्याप्स भएर हुने ट्रिपिङका कारण बिजुली कटौति हुने समस्या उपभोक्ताले भोग्नु पर्दैन।

सरकारले नेपालको राष्ट्रिय प्रसारण प्रणालीलाई मजबुत बनाउ सके सिस्टम कोल्याप्स र ट्रिपिङ नहुने बनाउनुपर्छ। त्यसका लागि नेपाल सरकारले राष्ट्रिय प्रसारण लाइन निर्माणलाई पहिलो प्राथमिकता राख्नुपर्छ। प्रसारण लाइनको क्षमताभन्दा बिजुलीको माग बढ्दा पटकपटक बत्ती जाने गरेको नेपाल विद्युत प्राधिकरण सम्बद्ध अधिकारीहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस