सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनका गैंडाको गोबरमा भेटियो प्लास्टिक र पेय पदार्थको बिर्को

२०८० असार १२, ०४:०१ खबर संवाददाता

धनगढीः चितवन राष्ट्रिय निकुञ्जका गैंडाको गोबरमा प्लास्टिक, खुट्खाको खोल र पेय पदार्थका बोतलको बिर्को भेटिएको छ। गैंडामाथि गरिएको एक अध्ययनले आहारासँगै गैंडाले प्लास्टिकजन्य वस्तुसमेत खाने गरेको तथ्य फेला परेको छ।

सन् २०२०, २०२१ र २०२२ मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनको सीमा क्षेत्रमा गरिएको अध्ययनले वन्यजन्तुले घाँससँगै प्लास्टिक पनि खाने गरेको देखाएको हो।

सिसोबाना ट्रोपिकल बोटानिकल गार्डेन, चाइनिज एकेडेमी अफ साइन्सेज, युनान, चीनमा विद्यावारिधी गरिरहेका त्रिभुवन विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उपप्राध्यापक बलराम अवस्थीले वन्यजन्तुको गोबरमार्फत् भेल्लर (एक प्रकारको वनस्पति) को बीउको फैलावट विषयमा अध्ययन गरेका थिए।

अध्ययनको क्रममा अवस्थीले गैंडाको गोबरमा प्लास्टिकजन्य वस्तु भेटिएको बताएका छन्। गोबरमा प्लास्टिकजन्य वस्तु देखा परेपछि बिउको फैलावटसँगै एक सिंगे गैंडाद्वारा प्लास्टिकको सेवन विषयमा पनि उपप्राध्यापक अवस्थीले अध्ययन गरेका थिए। यो अध्ययनमा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पूर्वप्रमुख डा.बाबुराम लामिछाने र स्कुल अफ इन्भाइरोंमेन्ट एन्ड जियोग्राफिकल साइन्स र युनिभर्सिटी अफ नोटिङगम, मलेसियामा आवद्ध किम मैककाँन्की पनि सन्लग्न थिए।

उपप्राध्यापक अवस्थीका अनुसार गैंडाको गोबरमार्फत भेल्लरको बीउको फैलावटबारे सन् २०२० देखि अध्ययन भइरहेको थियो। भेल्लरको दाना गैंडाको आहारा फल हो। यसको अध्ययनको क्रममा गैंडाको गोबरमा प्लास्टिकका टुक्राहरू देखिए। त्यसपछि बीउको फैलावटसँगै 'एकसिंगे गैंडाद्वारा प्लास्टिकको सेवन' विषयमा पनि अध्ययन गरिएको अवस्थीले बताएका छन्। 'हामीले २५८ वटा गैंडाको ताजा गोबर परीक्षण गर्दा १०.१ प्रतिशत गोबरमा आँखाले देखिने प्लास्टिकका टुक्रा भेटिएको छ,' उनले भने, 'यसले गैंडाले उसको सामान्य आहारासँगै प्लास्टिकजन्य पदार्थ पनि खाने गरेको पुष्टि भएको छ।'

सामान्यतया एकसिंगे गैंडाहरू जहाँ पायो त्यहीँ दिसा गर्दैनन्। गैंडाले हरेक दिन निश्चित स्थानमा मात्रै दिसा गर्ने गर्छन। अनुसन्धानकर्ताहरूले गोबरको थुप्रोबाट ताजा गोबरको नमुना संकलन गरेर परीक्षण गरिएको बताएका छन्।। पुरानो गोबर भुसजस्तो हुने भएकाले नयाँ गोबर चिन्न गाह्रो हुँदैन। कतिपय नमुना गैंडाले दिसा गरेको प्रत्यक्ष देखेलगत्तै संकलन गरिएको थियो।

गोबरको नमुना परीक्षण क्रममा सन् २०२० मा ७ प्रतिशत, २०२१ मा १३ प्रतिशत र २०२२ मा १० प्रतिशत गैंडाको गोबरभित्र प्लास्टिक भेटिएको उपप्राध्यापक अवस्थीले बताए।

कमेन्ट लोड गर्नुस