धनगढीमा भन्सार छलीका सामानसहित एक जना पक्राउ
धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भन्सार छलिका सामानसहित भारत विहार प्रदेश घर भई हाल कैलालीको गोदावरी नगरपालिका–५ बस्ने ३८ वर्षीय सन्दिप कर्ण आइतवार पक्राउ परेका हुन्।
सन्दिपले चलाएको सु.प.प्र.०१००८ प ६६७२ नम्बरको मोटरसाइकलसहित अन्दाजी ६९ हजार २ सय ७५ मुल्य बराबरको छाता, कुर्ती, मेहन्दि, चिनी, नरिवल तेल, पेठा, सोडा, डिटल पाउडर, रंगहरु बरामदगरि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो। धनगढी–३ मिलन चोकबाटै भन्सार छलीका २० हजार मुल्य बराबरको जुत्ता २० जोर प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। यस्तै धनगढी–२ फनपार्क नजिकबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको सुर्ती, मसला, चिनी, आन्टी, कालो नुनलगाएतका सामान बरामद गरिएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।