कैलालीमा सवारी दुर्घटना अपडेटः घाइते १९ जनाको पहिचान खुल्यो

धनगढीः कैलालीको पहलमानपुरमा सवारी दुर्घटना हुँदा बस र ट्रकमा सवार १६ सहित १९ जना जना घाइते भएका छन्। आज दिउँसो २ बजेर २० मिनेटमा जिल्लाको घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको (मदिराको लोड गाडी) सुदूरपश्चिम प्रदेश ०१–००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। घाइतेहरुको उद्धार र उपचारका लागि प्रहरी चौकी पहलमानपुरबाट पाँच जना र ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्रबिर बिश्वकर्माको कमाण्डमा १० जना प्रहरी टोली खटिएको थियो।
दुर्घटनामा ट्रक चालक जोशीपुर गाउँपालिका–५ का ३५ वर्षीय बालकृष्ण चौधरीको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई भेरी अस्पताल बाँके रिफर गरिएको छ। त्यस्तै बस चालक बैतडीको पाटन नगरपालिका–७ का ३८ वर्षीय तेजसिंह ठगुन्नाको टाउको र दाँया खुट्टामा चोट लागेको छ। बसका सहचालक गोदावरी नगरपालिका–२ का ४० वर्षीय बिर्खबहादुर राना मगरको दुबै हातमा चोट लागेको छ।
टिकापुर नगरपालिका–१५ की ४२ वर्षीया यसोदा कठायत टाउको र हातमा चोट लागेको छ। सुर्खेतका ७० वर्षीया मोति मिजाराको टाउकोमा चोट लागेको छ। घोडाघोडी नगरपालिका–१ का ५१ वर्षीय प्रेमलाल चौधरी टाउको र कम्मरमा चोट लागेको छ। टिकापुर नगरपालिका–३ की ३५ वर्षीया पुष्पा सिर्पाली निधारमामा चोट लागेको छ। १० वर्षीय जोन सिर्पालीको खुट्टमा चोट लागेको छ।
घोडाघोडी नगरपालिका–.१० की २३ वर्षीया चित्रा शाही अनुहामा चोट लागेको छ। बर्दगोरिया गाउँपालिका–६ की २५ वर्षीया मिना बम टाउकोमामा चोट लागेको छ। उनकी एक वर्षीया छोटीको सरस्वती बम टाउकोमा चोट लागेको छ। घोडाघोडी नगरपालिका–१० का २१ वषीय रुपेश शाहीको टाउकोमा चोट लागेको छ। टिकापुर नगरपालिका–१ की ३५ वर्षीया कमला रावल भण्डारीको टाउकोमा चोट लागेको छ।
बर्दिया राजापुर नगरपालिका–३ की २२ वर्षीया सुष्मा चौधरी टाउकोमा चोट लागेको छ। उनको एक वर्षीय छोरा कायरन चौधरीको टाउकोमा चोट लागेको छ भने टिकापुर नगरपालिका–४ का ४ वर्षीय सलुन भण्डारीको टाउकोमा चोट लागको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य छ। त्यस्तै दुर्घटना हुँदा नजिकै रहेका साईकल यात्री भाग्ने क्रममा सामान्य घाईते भएका छन्।
उनीहरुको पहलमानपुरमा उपचार भइरहेको छ। घाइते हुनेमा घोडाघोडी नगरपालिका–५ की ४० वर्षीय फुलकुमारी चौधरी, २६ वर्षीया रितिका चौधरी तथा १६ वर्षीया प्रगती चौधरी रहेकी छन्। अहिले वैकल्पिक रुटको प्रयोग गरी यातायात सेवा सुचारु गरिएको छ। दुर्घटनामा बस चालक बैतडी पाटन नगरपालिका–७ का ३८ वर्षीया तेजसिंह ठगुन्नालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी रिफर गरिएको छ।



