असुरक्षित कैलाली कारागार, पाँच सय भारुका २०८ नोट फेला
धनगढीः जिल्ला कारागार कैलाली असुरक्षित बन्दै गएको छ। शुक्रबार कारागारको अनुगमनका क्रममा पाँच सय भारतीय रुपैयाँका दुई सय ८ नोट फेला पारिएको छ। तालिम प्राप्त कुकुर समेतको टोलीले जिल्ला कारागारको अनुगमन गर्दा थुप्रै कैफित कारागारभित्र फेला परेको छ। कारागारभित्र विभिन्न कम्पनीका १५ थान मोबाइल, ३३ थान चार्जर र भारतीय रुपैयाँसम्म फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।
‘कारागारभित्र लागुऔषध छ/छैन भनेर एकिन गर्न कुकुरसहित अनुगमनमा जाँदा फेला नपरेपनि भारतीय रुपैयाँ, मोबाइल र मोबाइल चार्जर भने फेला परेको छ।’ बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ। कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेको विषय पनि बाहिर आएको छ। कारागारको अनुगमनका क्रममा प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गरेको बताइएको छ।
कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भूपेन्द्र सामन्त घाइते भएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको बताइएको छ। प्रहरी निरीक्षक साउँदले अनुगमन सकेर बाहिर निस्किने क्रममा धकेल धाकेल हुँदा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको बताए।
प्रहरीका अनुसार कारागारभित्र लागुऔषध फेला नपरेपनि भारतीय रुपैयाँ, मोबाइल र मोबाइल चार्जर कसरी कैदीबन्दीको हातसम्म पुगे भन्ने विषयमा अनुसन्धान जारी छ। जिल्ला कारागार कैलालीमा १२ वर्षदेखि कैद जीवन विताइरहेका एक जनाले आफुलाई कारागार भेट्न आएका आफन्तहरुले पैसा दिने गरेको र जम्मा गर्दै गर्दा पाँच सय भारुका २ सय ८ नोट जम्मा भएको प्रतिक्रिया दिएको प्रहरीले बताएको छ। नेपाली नोट नभएर भारतीय नोट नै यति धेरै फेला पर्नुलाई अपराधमा कतै भारतीय नागरिकको पनि संलग्नता त छैन भन्ने आंशका समेत गरिएको छ।