सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति दिइने

२०८० असार ८, १२:५७ खबर संवाददाता

धनगढीः इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका– ५ गेटाका पारस साउँदलाई धनगढीको एसपीए कलेजले कदरपत्रसहित सम्मान गरेको छ। शुक्रबार क्याम्पस प्रमुख योगराज उपाध्यायले इलेक्ट्रिक बाइक निर्माण गर्दै हजारौं युवाहरुका लागि प्रेरणा बनेको भन्दै पारसलाई सम्मान पत्र प्रदान गरेका हुन्।

यसैवर्ष एसईई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने समेत घोषणा गरेको छ। साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ। आफ्नो प्रतिभालाई चिन्दै कलेजले गरेको सम्मानप्रति पारसले आभार व्यक्त गरे। साथै आफ्नो भविष्यका प्रोजेक्टहरुमा एसपीएबाट सहयोग पाउने भएपछि अन्त्यन्तै खुशी भएको बताए।

पारसले घरमै डेढ महिनाको अवधिमा झण्डै एक लाख रुपैयाँको लागतमा उक्त मोटरसाइकल निर्माण गरेका हुन्। उनले बनाएको बाइक आरएफआईडी सिस्टमयुक्त छ। जसका कारण बाइक स्टार्ट गर्न चाभीसँगै एक विशेष कार्डको पनि आवश्यकता पर्छ। जसकारण बाइक चोरिने सम्भावना हुँदैन। बाइकमा रिभर्स सिस्टम (पछाडि पनि चलाउन मिल्ने) छ। ६० किलोमिटरको गतीमा चल्न सक्छ।

एकपटक चार्ज गरेमा ७० देखि ८० किलोमिटर सम्म बाइक गुड्न सक्छ। यस्तै बाइकको अगाडि डिजिटल डिस्प्ले पनि राखिएको छ। जसमा ब्याट्रीको अवस्था, बाइकको स्पिड, कुँदेको किलोमिटर, लाइट, सिंग्नल आदि महत्वपूर्ण जानकारी हेर्न सकिन्छ।  बाइक निर्माणमा पारसलाई एसपीएकै विद्यार्थी सोहन कैनी र सागर खनालले सहयोग गरेका हुन्। यसअघि सोहनले कलेजको सहयोगमा इलेक्ट्रिक बाइक तथा सागरले एसपीए इभी मोडल वान कारको निर्माण गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस