सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले आगामी आर्थिक वर्षलाई विद्यार्थी सिकाइ उपलब्धि सुधार वर्षका रुपमा मनाउने

२०८० असार ७, १०:५० नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ लाई विद्यार्थी सिकाइ उपलब्धि सुधार वर्षको रुपमा मनाउने भएको छ। शिक्षा, युवा तथा खेलकुद विकास कार्यनीतिमा आगामी वर्षलाई सिकाइ उपलब्धि सुधार वर्षको रुपमा मनाउने नीति लिइने भएको हो।

बिहीवार  नगरप्रमुख गोपाल हमालले नगर सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि "नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम" सञ्चालन गरिनेछ। यसका लागि सरोकारवाला निकायको सहयोग र समन्वयमा 'नगरप्रमुख शैक्षिक सुधात कोष' स्थापना गरी थप स्रोत जुटाउन पहल गरिनेछ। उपमहानगरले सामुदायिक सामुदायिक विद्यालयको क्षमता विकासका लागि विद्यालयहरूको क्लष्टर निर्माण गरी कार्यक्रम सञ्चालन गरिने नीति लिइनेछ।
 

विद्यालय समायोजन र नक्साङ्कन गरिने
सामुदायिक विद्यालयहरूलैई नगर शिक्षा समितिले निर्धारण गरेको मापदण्डका आधारमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण सहयोग अनुदान उपलब्ध गराइनेछ। उपमहानगरले यो आर्थिक वर्षभित्र शिक्षा कानून बमोजिम सामुदायिक विद्यालयको नक्साङ्कन समायोजन, तह तथा कक्षा मिलान, शिक्षक तथा कर्मचारी दरबन्दी मिलान एवम् प्रधानाध्यापक व्यवस्थापन कार्य सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

उपमहानगरले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा दलित तथा छात्रा विद्यार्थीहरूको संख्या बढी भएका विद्यालयमा नेपाल सरकारले तोकेको कक्षाभन्दा माथिल्ला कक्षामा समेत दिवा खाजा खुवाउने व्यवस्था मिलाइने भएको छ। यस्तै, बालबालिकालाई कुलतबाट जोगाउन विद्यालय, स्वास्थ्य संस्था परिसर नजिक मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउँदै विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई उक्त पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ।
 

विद्यार्थीका लागि छात्रवृत्ति 
धनगढीमा बाहिर डेरा गरेर बस्नुपर्ने अपाङ्गता भएका विद्यार्थीहरूलैई आवासीय छात्रवृत्ति, अन्य अपाङ्गता भएका विद्यार्थीहरू, आधारभूत तहका सबै छात्रा, आधारभूत तहका सबै दलित छात्र, मुक्त कम्लहरी र विपन्न लक्षित समूहका विद्यार्थीहरूलाई अध्ययनरत विद्यालयहरूबाटै गैरआवासीय छात्रवृत्ति उपलब्ध गराइने भएको छ। यस्तै, विद्यालय तथा उच्च शिक्षामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूको सहायताका लागि डिजिटल सामग्री (मोबाइल, ट्याबलेट, ल्यापटप) उपलब्ध गराइने नीति उपमहानगरले लिने भएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस