सुदूर नेपाललाई विश्वसँग जोड्दै

भादा होमस्टेलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाइने

२०८० असार ७, १०:०६ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि होमस्टे कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालित गरिने भएको छ। उपमहानगरले भादा होमस्टेलाई  आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास गरिने भएको हो। यस्तै, जुगेडा गाउँलाई राना थारू होमस्टेको रुपमा विकसित गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

होमस्टे सञ्चालनका लागि स्थानीय बासिन्दालाई परम्परागत खानपिन, रहनशैली, संस्कृति, पर्यटन, सूचना र मौलिकता प्रवर्द्धन जस्ता पर्यटकीय कार्यक्रमबारे अभिमुखीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगर प्रमुख गोपाल हमालले नगर सभा समक्ष पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा राना थारू समुदायको बडघर, भलमन्सा प्रथालाई कानूनी मान्यता दिइने भएको छ। आगामी वर्षबाट थारु संग्रहालय, पटेला र रानाथारू संग्रहालय, राजपुरलाई कार्यविधि तयार गरी सञ्चालनमा ल्याइनेछ।

उपमहानगरले बेला धाम, लमही ताल, नथुनिया ताल, कथनिया ताल, जाखौर ताल, तौलाहा ताल, नेतुवा ताल, तिल्के ताल, गढैया ताल, चौफेरी ताल, महादेवा ताल, मटकन्ना ताल, नुकुली तालमा न्यूनतम पूर्वाधारसहित पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्दै तालबाट जमिनभित्र बर्सादको पानीको पुनर्भरण गर्न ताललाई पुनर्भरण पोखरीको रुपमा विकास गरिने भएको छ।

कमेन्ट लोड गर्नुस